अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि-७ चिबेकमा अवस्थित पाणिनि बहुप्राविधिक शिक्षालयमा अर्घाखाँची जिल्लाका कार्यालय प्रमुखहरूको भेला तथा बैठक सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी मिना अर्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्लामा रहेका सम्पूर्ण कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो । जिल्लामा भइरहेका कार्यक्रमहरूको समीक्षा एवं भावी दिनमा कार्यालयहरुले गर्नुपर्ने कामहरुको बारेमा छलफल गरि आवश्यक निर्णय लिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । प्रत्येक महिनाको पहिलो हप्ता जिल्लामा रहेका कार्यालय प्रमुखहरूको बैठक बस्ने नियमअनुसार आजको कार्यक्रम पाणिनि बहु प्राविधिक शिक्षालयमा आयोजना गरिएको थियो ।
कार्यक्रममा उपस्थित कार्यालय प्रमुखहरुले आफ्नो कार्यालयले प्रयोग गरेका सकारात्मक एवं प्रगतिका बारेमा जानकारी गराएका थिए । त्यस्तै कार्यक्रमको सौजन्य गर्ने पाणिनि बहुप्राविधिक शिक्षालयको वर्तमान गतिविधिका बारेमा पनि आजको छलफल विशेष केन्द्रित रहेको थियो । अहिलेको युग प्राविधिक शिक्षाको युग भएकाले सबैले यस शिक्षालयको शैक्षिक, सामाजिक एवं भौतिक विकासमा ध्यान दिनुपर्नेमा शिक्षालय प्रमुख मणि गैरेले आग्रह गरेका थिए । आजको छलफल निकै सकारात्मक र प्रभावकारी रहेको शिक्षालयका प्रमुख गैरेले जानकारी दिएका छन् ।













