काठमाडौं। पछिल्लो समय ज्योतिषीका नाममा नक्कली ज्योतिषीहरुको बिगबिगी बढ्दै गइरहेको सन्दर्भलाई मध्यनजर गर्दै त्यसलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने उद्देश्यले ज्योतिषीहरुको संयुक्त बैठक आज काठमाडौंमा सम्पन्न भयो।
काठमाडौंमा सम्पन्न उक्त बैठकमा विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेल, दक्षिण एशियाली ज्योतिष महासंघका अध्यक्ष डा.सहदेव विष्ट र नेपाल ज्योतिष परिषद्का अध्यक्ष ज्यो.माधवराज पाण्डेको विशेष सहभागिता रहेको थियो । तीनवटै संस्थाका केहि पदाधिकारीहरु समेत सम्मिलित उच्चस्तरीय संयुक्त बैठक काठमाडौको होटल याक एण्ड यतिमा बसेको थियो।
आज बसेको बैठकले हाल देशैभर रहेका ज्योतिषीहरुबाट आफ्नो पेशालाई प्रभावित पार्ने उद्देश्यले सामाजिक सञ्जाल युट्युब, फेसबुकका साथै विद्युतीय माध्यमबाट समेत गहिरो अध्ययन र अनुसन्धान विना जनमानसमा भ्रम सिर्जना गर्ने जस्ता कार्यहरु भैरहेकोले त्यस्ता व्यक्ति वा संस्थामा कार्यरत व्यक्तिहरुलाई मुल्यांकन गरी आचारसंहिताको दायरामा ल्याउनुपर्ने विषयमा व्यापक छलफल भएको नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य शिवलाल पौडेलले जानकारी गराएका छन् उक्त विषयलाई निष्कर्षमा पुर्याइ समस्या समाधानका लागि नेपाल ज्योेतिष परिषद्का उपाध्यक्ष लेखनाथ न्यौपानेको संयोजकत्वमा सात सदस्यीय अनुगमन समिति समेत गठन गरि जिम्मेवारी दिएको छ।
बैठकमा भएका निर्णयहरु ः–
–वेधशाला स्थापना गर्न पहल गर्ने ।
–तिनवटैै संस्थाका अध्यक्ष र महासचिव रहेको समन्वय समिति गठन गर्ने र कुनै एक संस्थाको पदाधिकारीलाई सदस्य सचिव बनाउने ।
–पञ्चाङ्ग निर्णय विकास समितिसँग ३ वटै संस्थाको तर्फबाट समसामयिक विषयमा छलफल गर्ने ।
–३ वटै संस्थामा रहेका पदाधिकारी तथा सदस्यहरुले विधान अनुसारको जिम्मेवारी पुरा नगरी अर्को संस्थामा पद वहाली हुँदा अनिवार्य स्विकृति लिएरमात्रै राख्ने ।
–हरेक ३/३ महिनामा वा आवश्यकता अनुसार समन्वय समितिको बैठक बस्ने ।













