गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।
गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्तावापत मासिक एक हजार रुपैयाँ दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले बताइन् ।
पालिकाले वार्षिक नीति तथा कार्यक्रम बमोजिम एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो । हालसम्म पालिकाभित्र ५५ वर्षमाथिका ७० जना एकल पुरुषको तथ्यांक संकलन भएको छ ।
एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने नवीन प्रकृतिको कार्य भएको उनको भनाइ छ । वडाको सिफारिसका आधारमा भत्ता दिइनेछ ।
पालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन परिचयपत्र बनाउने कार्य गरिरहेको छ । अन्य सामाजिक सुरक्षा भत्तासँगै एकल पुरुषको भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको छ ।













