काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ।
गएराति भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्यो। लिगमा दिल्लीको भने लगातार चौथो हार हो। अरुण जेट्ली रंगशालामा सम्पन्न खेलमा दिल्लीले प्रस्तुत गरेको १७३ रनको लक्ष्य मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
मुम्बईको जितमा कप्तान रोहित शर्माले ६५ रन बनाए। रोहितले ४५ बलमा ६ चौका र चार छक्का प्रहार गरे। तिलक वर्माले ४१, इशान किसनले ३१, क्यामेरोन ग्रीनले १७ र टिम डेविडले १३ रन बनाए।दिल्लीका मुकेश कुमारले दुई विकेट लिदा मुस्ताफिजुर रहमानले एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङमा आएको दिल्लीले १९ दमलव ४ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो। दिल्लीका अक्षर पटेलले ५४ रन बनाए। कप्तान डेविड वार्नरले ५१ रन जोडे। मनिष पाण्डेले २६ र पृथ्वी शाले १५ रन बनाए। मुम्बईका पियुश चावला र जसेन बह्रेनडोर्फले समान तीन विकेट लिए। रिले मेरेडिथले दुई विकेट लिदा रितिक सोकिनले एक विकेट लिए।
जितसंगै तीन खेलबाट दुई अंक जोडेको मुम्बई आठौं आठौँ स्थानमा छ। चार खेल खेल्दा पनि अंकविहीन दिल्ली तालिकाको पुछारमा छ।












