काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वास्तविक मिटरब्याजी सरकार भएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बुधबार बोल्दै शाहीले सरकारले अहिलेसम्म चालू खर्च ५१ दशमलब ४६ प्रतिशत, पूँजिगत खर्च २२ दशमलब १५ र व्यवस्थापन खर्च ३७ दशमलब ४१ प्रतिशत मात्रै गरेको बताए।
‘असारमा मात्रै खर्च गर्ने, सरकारले अझै ७८ प्रतिशत पूँजिगत खर्च गर्न बाँकी छ। भएभरको पैसा बैंकमा राख्ने र ब्याज खाने?’ शाहीले भने,‘यसले गर्दा वास्तविक मिटरब्याजी कोही छ भने सरकार हो।’
सरकारी पैसा ढुकुटीमा राखेर विकास निर्माणका काम ठप्प पारिएको उनको जिकिर छ।
‘यसरी बैंकमा पैसा राखेर जनतालाई अलमल पार्ने काम नगरियोस्। कर्मचारीले तलब खान पाएका छैनन्। निर्माण व्यवसायीले पैसा पाएका छैनन्।’ शाहीले भने ‘संसद नियमावली बमोजिम सम्बन्धित मन्त्रीबाट जवाफ चाहन्छौं।’













