काठमाडौं।
साविक उमावि (कक्षा ११/१२) तहमा कार्यरत शिक्षकहरूको पेसागत साझा संगठनका रुपमा रहेको माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(HISTUN) केन्द्रिय समितिले गरेको निर्णय अनुसार आज देशभरका सबैजसो स्थानीय तहहरुमा विभिन्न मागहरू सहितको ज्ञापनपत्र बुझाएको छ। उनीहरूले देशभरका स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइहरुमा दबाबमूलक धर्ना समेत दिएका छन् ।
विगत लामो समयदेखि समयसमयमा आन्दोलन गर्ने र त्यसलाई शैक्षिक नेतृत्वसंग बसेर वार्ता गर्दै एउटा सहमति र सम्झौतामा आन्दोलनलाई रोक्दै आएका शिक्षकहरुले अब भने राज्यका त्यस्ता आश्वासन र सम्झौतालाई मात्रै चित्त बुझाउन नसकिने जिकिर गर्दछ्न र अविलम्ब कार्यनयन को प्रक्रियामा लैजानुपर्ने माग उनीहरूले राखेका छन्।
तत्कालीन उच्च माध्यमिक विद्यालय को मातहतमा रहेका कर्मचारीहरु र शिक्षकहरुलाई व्यवस्थापन गर्ने सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्ड बनिसक्दा पनि विगत लामो समयदेखि निरन्तर रुपमा कार्यरत करिब ६ हजार शिक्षकहरुको व्यवस्थापनका सवालमा राज्य बेखबरमात्रै होइन लाचारीपन देखाएको छ।
यतिखेर जम्मा ६ हजार शिक्षक कोटामध्ये २ हजारमात्रै शिक्षक दरबन्दीमा कार्यरत रहेका छन् भने ४ हजार शिक्षक अनुदानमा कार्यरत छन्। माध्यमिक तह द्वितीय श्रेणी बराबरको तलब सुविधा पाएका हुनेहरु का अन्य समस्याहरूको बारेमा राज्य निरीह बन्दै गएको प्रति शिक्षकहरु रुष्ट देखिन्छन्। जिल्लान्तर सरुवा शिक्षकहरूको मर्यादाक्रम र कक्षा ११/ १२ मा अध्यापनरत शिक्षकहरुलाई राष्ट्रिय परीक्षा बोर्डले परिक्षा सम्बन्धी काममा प्राथमिकता दिनुपर्ने उनीहरूको माग रहेको छ।त्यतिमात्रै होइन विगतमा अस्थायी शिक्षक व्यवस्थापनका सन्दर्भमा राज्यले प्रयोग गरेको नजिरलाई आधार बनाएर शिक्षकहरूको व्यवस्थापन गरिनुपर्ने हिस्टुनका अध्यक्ष टिका न्यौपानेले बताएका छन्।












