बुटवल । पत्रकारिता प्रविधिको विकास सँगै पछिल्लो समय गुणात्मक रुपमा विकसित हुँदै गएको छ । राज्यको चौथो अंग मानिने पत्रकारिता निष्ठापूर्वक कलम चलाउनुपर्ने पेसा हो समाजलाई सुसूचित र सन्देश प्रवाह गर्ने माध्यम नै पत्रकारिता जगत हो । स्वच्छ र स्वतन्त्र रुपमा गरिने पत्रकारिताले बेथितिलाई बाहिर ल्याएर समस्यालाई समाधान गर्ने गर्दछ ।
पछिल्लो समय पत्रकारितामा केही विचलनको स्थिति आएको देखिन्छ । यसलाई पत्रकारिता आचारसंहिता बाहिर जान नदिन पत्रकारहरूलाई क्षमता अभिवृद्धि तालिम आवश्यकता रहेको नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सूरज भण्डारीले बताए । आइतबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलमा बोल्दै नेजाका नवनिर्वाचित अध्यक्ष भण्डारीले यस्तो बताएका हुन ।
अध्यक्ष भण्डारीले रूपन्देहीमा रहेर लामो समय पत्रकारिता गरेका उनी हाल अमेरिकाको भूमिबाट पनि नेपाली पत्रकारिताको मायालाई अँगाल्दै अमेरिका र नेपालको सम्बन्धलाई अझ नजिक बढाउने गरि कलम चलाउँदै आएको भन्दै आइतबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीले भण्डारीलाई सम्मान गरेका थिए ।
सम्मान ग्रहण गर्दै अध्यक्ष भण्डारीले प्रवासमा रहेर नेपाली भाषा सहितको पत्रकारितालाई गुणात्मक रुपमा अघि बढाउने गरी निरन्तर कलम चलाउँदै आएको बताए । उनले तेस्रो मुलुकमा पत्रकारिता गर्न सोचे जस्तो सहज नभएको भन्दै प्रवासी नेपालीहरूको उत्थानको लागी आफूहरू लागी परेको जनाए । अध्यक्ष भण्डारीले नेजाले ग्रामीणस्तरमा रहेर पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहन स्वरुप राशि सहितको सम्मान गर्दै आएको बताए । उनले रिपोर्टर्स क्लब नेपालले देश र समाजको लागी उल्लेख्य कार्य गरेको भन्दै आगामी दिनमा थप प्रभावकारिताका साथ अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा रिपोर्टर्स क्लब नेपाल अमेरिका शाखाका अध्यक्ष किसन रेग्मीले क्लब छोटो समयमा नै प्रवासमा रहेका नेपालीहरूको दुख सुखको साथी बन्न पुगेको बताए । उनले अमेरिकामा रहेका विभिन्न सङ्घसंस्थाहरूसँग सहकार्य गर्दै उनले नेपाली र नेपालको हितमा काम गर्दै आएको दाबी गरे । अध्यक्ष रेग्मीले नेपालमा रिपोर्टर्स क्लबको लामो इतिहासलाई आफूहरूले १ वर्षमा नै पूरा गर्न नसक्ने तर क्लबको औचित्य र गरिमालाई प्रवासी नेपालीहरू माझ कमी हुन नदिने जिकिर गरे ।













