हतारिदैं विद्यालय बाट घर आएर खाजा खाइ साथी सँग खेल्न गरेको पल निकै मीठो लाग्छ । सानो उमेरका केटाकेटी खेल्न जाने, १५/१६ वर्षका केटाकेटी समूह बनाएर साँझमा आफ्नो गफको तालमा बिनिन हुँदै हिँडेको देख्दा आफूपनि त्यो उमेर कहिले आउला लाग्ने गर्थ्यो । छ दिन मा आउने शनिवार आउन पनि छ दशक लामो भए जस्तो लाग्थ्यो। चाहे जुन उमेरको व्यक्ति होस् शनिवार नजिकिए सँगै मनमा उत्साह आउने गर्थ्यो । शनिवारको उत्साह पनि छुट्टै हुन्थ्यो । परिवार सँग समय बिताउने,घुम्न जाने, आफन्तीको घर जाने गरिन्थ्यो । प्रायजसो घरमा एउटा मोबाइल हुने गर्थ्यो । मोबाइल भएपनि अहिले जस्तो सुविधा सम्पन्न भने हुन्नथे । मोबाइलको प्रयोग केवल फोन गर्न मात्र प्रयोग गरिने गरिन्थ्यो ।
आज न त्यो शनिवारको प्रतिक्षा छ न साथी भाइ सँगको रमाइलो । उ बेला फोन मात्र प्रयोग गरिने मोबाइलले जीवनमा यति सम्म परिवर्तन ल्याउँछ भन्ने कल्पना पनि गर्न सकिने अवस्था थिएन । समयको माग सँगै परिवर्तन हुनु आवश्यक हो तर परिवर्तनको लहडमा दौडिँदा उक्त परिवर्तनले हामीलाई पारेको प्रभावको बारेमा जन्नु आवश्यक रहेको हुन्छ । मोबाइल,सामाजिक संजाल लगायतका कुराले हामीलाई निकै प्रभाव पारेको धेरै समय भएको छैन । मोबाइलको नशा लागू-औषधको नशा भन्दापनि बढि खतरनाक भएर निस्केको छ । हरेक उमेरको मानिसलाई यसले समस्याको बेलैमा चित्रण गर्न नसके यसले मानव जिवनमा ठुलै समस्या निम्त्याउने अनुमान गर्न सकिन्छ ।
नेपालमा मोबाइल प्रयोगकर्ता कसरी बढे?
नेपालमा दूरसञ्चारको लामो इतिहास छ, जुन सन् १९१३ मा पहिलो टेलिफोन लाइन स्थापना भएको थियो ।
नेपालमा पहिलो मोबाइल कहिले भित्रियो भयो भन्ने प्रश्न को निश्चित उत्तर छैन तर, धेरैले नेपालमा पहिलो मोबाइल सन् २००० मा प्रक्षेपण भएको नोकिया ३३१० हो भन्ने विश्वास गर्छन्। केही वर्ष अधि सम्म कता कति मात्र मोबाइल प्रयोग कर्ता देखिने गर्थे भने आजकल कताकति मोबाइल प्रयोग नगर्ने मान्छे भेटिने गर्छन् ।
विभिन्न तथ्यांक लाइ आधार मानेर हेर्दा नेपालमा सन् २०१९ बाट अधिकतम मात्रामा मोबाइल प्रयोगकर्ता बढेको पाउने गरिन्छ । कोरोना महामारीको लकडाउन सँगै अफिस को काम, विद्यार्थी को पठन पाठन लगायतका कामहरू अनलाइनको माध्यम बाट हुन थाले । तत्कालीन समयमा मोबाइल नभइ नहुने साधन बनिसकेको थियो । महँगो भएका कारण मोबाइल किन्न नसकेका ले पनि त्यो समयमा छोरा छोरी लाइ अनलाइन कक्षा पढाउने,आफूले आफ्नो काम गर्नका लागि मोबाइल किन्न बाध्य भए । यसरी घरमा एउटा मात्र हुने फोन घरका हरेक सदस्य को संख्या अनुसार हुन थाल्यो ।
मानव समुदायलाई मोबाइल आधुनिक विज्ञानले दिएको एक सुनौलो उपहार हो । प्रविधिलाई अँगाल्दै समस्त विश्व अगाडि बढिरहेको छ । नेपालको सन्दर्भमा हेर्दा नेपालको प्रविधि पनि निकै परिवर्तित छ । प्रविधि भित्रिए सँगै मोबाइल प्रयोग कर्ताको संख्या बढ्नु स्वाभाविक छ । मोबाइलको प्रयोगकर्ता बढ्नु भनेको हरेक मानिसले विभिन्न कुराको सेवा सुविधा सरल तरिका बाट पाउनु हो । यो नै मोबाइलको मुख्य विशेषता हो । स-सानो काम पनि मोबाइल बाटै हुने गर्दछ । आफ्नो सम्पूर्ण काम मोबाइल बाट हुने भएकोले मोबाइल प्रति मानिसको मोह बढ्नु स्वाभाविक हो । रेडियो,टेलिफोन, टर्च, घडि जस्ता नभइ नहुने साधनको सुविधा साधरण मोबाइलमा पाइन्छ त्यसैले मोबाइलको प्रयोगकर्ता पनि ह्वात्तै बढेको पाइन्छ ।
मोबाइलले निम्त्याएका समस्याहरु :
सामाजिक संजालले निम्त्याएका समस्या भनेर हामीले साइबर अपराधका कुरा मात्र व्यापक सुन्न सकिन्छ । तर यसको गहिरो अनुसंधान गर्दै जानेको भने मोबाइलले मानिसको मस्तिष्क सँग खेलिरहेको छ । यसले मानिसलाई संसार बात एक्लो बनाउने, पारिवारिक सम्बन्धमा दरार ल्याउने र आत्महत्या गर्न सम्म बाध्य बनाउने जस्ता समस्या निम्त्याएको छ ।
– बढ्दो चिन्ता, कमजोर आत्म-सम्मान, असुरक्षित संलग्नता, वा भावनात्मक अस्थिरता जस्ता कारकहरूको कारणले
मानिसलाई मानसिक आरामको आवश्यकता हुन्छ । कतिपय मानिसहरू भावनात्मक सम्बन्धमा आराम पाउन मोबाइल फोनको अत्याधिक प्रयोग गर्छन् । यसरी आराम पाउनको लागी मोबाइल प्रयोग गर्दा मानिसमा मोबाइलको लत बस्न जान्छ । यसलाई नै नोमोफोबिया भनिन्छ । नोमोफोबिया सामान्यतया व्यवहारिक लत मानिन्छ; यसले लागू पदार्थको लतसँग धेरै विशेषताहरू साझा गर्दछ। इन्टरनेटमा मोबाइल फोनको जडान नोमोफोबियाको एक कारण हो।
– भनिन्छ मोबाइलले,सामाजिक संजालले समस्त संसारलाई एक गाउँमा परिणत गरेको छ । मानिसले संसारको ज्ञान लीन खोज्दा आफ्नो आपसि सम्बन्ध गुमाएको छ । एकै छानोमुनि बसेका परिवारमा पनि पारिवारिक रमझम हुन सकेको हुँदैन । हामी सामाजिक संजालमा यति व्यस्त बन्यौं कि हामिलाइ घर नजिकै घटेको घटना पनि सामाजिक संजाल मार्फत पत्ता लाग्ने गर्दछ । घरमा आमा ले खाना खान पनि मोबाइलमै मेसेज गरेर बोलाएको अवस्था देख्न सक्छौं । यसले पारिवारिक सहिष्णुतामा निकै असर गरेको छ ।
यसले परिवारको आपसी सम्बंधमा निकै प्रभाव पारेको छ । सानो कुरामा पनि घर परिवार सँग झर्किने, आफूलाई एक्लो बनाउने, बाहिरी कुरामा वास्ता नदिने,आफ्नै आफन्तीलाई समेत नचिन्ने जस्ता समस्या मोबाइलले निम्त्याएको देख्न सकिन्छ ।
– मोबाइल मार्फत फैलिने मिथ्या सूचना एउटा जल्दो बल्दो समस्याका रूपमा स्थापित हुन पुगेको छ । मानिसले दिनमा आधा समय मोबाइलमा खर्च गर्ने गर्दछन् । सामाजिक संजालको प्रयोग गर्दा उनीहरू त्यहाँ आएका सम्पूर्ण कुरालाई साँचो मान्ने गर्छन् । यही कुराको फाइदा उठाएर कतिपय मानिले मोबाइल प्रयोगकर्ताको मानसिकता सँग खेलेर उनीहरूलाई लुटेको जस्तो समस्याका खबर सुन्न सकिन्छ ।
यी लगायतपनि व्यक्तिको शारीरिक असक्तता र मानसिक तनावको कारणपनि मोबाइल बनेको छ ।
मोबाइलले कसरी समस्या निम्त्यायो ?
पहिला घरमा एक जना सँग मात्र हुने मोबाइल आज घरको हरेक सदस्य सँग एकाएककै हातमा भेट्न सकिन्छ । लकडाउनले सबैको हातमा मोबाइल पुर्याई सकेको थियो । साना बच्चा देखि लिएर ठूला सम्मले एका एकै मोबाइल चलाउन थाले । मोबाइल प्रयोग गरेका लाइ सामाजिक संजालमा जोडिन धेरै समय लागेन । सामाजिक संजालको फाइदा बेफाइदा थाहा नपाएका उनीहरू मोबाइलको नराम्रो लतमा फसेको पाइन्छ । सामाजिक संजाल जति हेर्यो, जति यसको प्रयोग गर्यो त्यति रस हुन थाल्छ यसरी यो लतको रूपमा स्थापित भएर समस्या निम्त्याएको पाइन्छ ।
वर्तमान समयमा मोबाइलको लत धेरै देखिएपनि यसलाई सुधार गर्न सकिन तर एउटा बालकलाई सानै बाट मोबाइलको लत लाग्यो भने उसलाई यो लतबाट निकाल्न सम्भव नहुने अवस्था हुन सक्छ । हामी बालबालिकालाई मोबाइल बाट टाढा राख्नको सट्टा आफै उनीहरूलाई मोबाइल हेर्न प्रोत्साहन गरेका छौं । केही महिना को बालकलाई खाना खाएन भनेर मोबाइल दिने, आफू काममा व्यस्त भएको बेला बच्चालाई मोबाइल हेर्न दिने, पढ्न सिकाउँछु भन्दै मोबाइल दिने गरेको पाइन्छ । यसरी हुर्किएको बच्चाले भोलि मोबाइल भएन भने खाना नखाने समस्या आउन सक्छ । अहिले पनि कतिपय बच्चा मोबाइल बिना खाना नखाएर हस्पिटल सम्म ल्याउन परेको समस्या डाक्टर हरू बताउने गरेका छन् । यसरी हामीले नै एक बालकको भविष्यमा खेलबाड गरेका छौं । समस्याको जरोमा घरबाटै पानी हालेर त्यसलाई हुर्काइरहेका छौं ।
त्यसोभए के गर्ने त ?
– बालबालिकालाई खाना खुवाउने निहुँमा मोबाइलको प्रयोग गर्न नदिने । अन्य काममा आवश्यक परेको खण्डमा आफ्नो निगरानीमा प्रयोग गर्न दिने ।
– मोबाइललाई आफूमाथी हाबी हुन नदिने । स्क्रिन टाइम हेरेर आफूलाई यसको लत लाग्न बाट नियन्त्रण गर्ने ।
– सासना कुरा खोज्नुपर्यो भने मोबाइल को प्रयोग नगर्ने । किताबमा हेरेर हुन्छ वा अन्य व्यक्ती लाइ सोधेर समस्या समाधान गर्ने ।
– राती सुत्ने बेलामा मोबाइल अन्य कोठामा छोडेर सुत्ने ।
– आफूलाई शान्त राख्ने र मोबाइल बाहेकका काममा व्यस्त बनाउने । आदि ।
यी कुरा गरेमा हामीले आफूलाई मोबाइलको लत बाट बचाउन सक्छौं । पुन पहिला जस्तै खुसी जीवन यापन गर्न सक्छौं । यसरी मानिस शारीरिक तथा मानसिक दुबै रूपले स्वस्थ हुन सक्छ । गुमेका पारिवारिक सम्बन्ध फेरि जोडिन थाल्छन् । फेरि जीवन हर्ष मय हुन जान्छ ।
– विबेक पाैडेल












