काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धन सरकार पूरै असफल बताएका छन्।[su_pullquote align=”right”]अहिलेको गठबन्धन राष्ट्रियता र सुशासनप्रति कमजोर छ। विकासप्रति चासो नै छैन।[/su_pullquote]
प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले एक वर्षमा केही गर्न नसकेको र अब सुध्रिन्छु भन्ने निष्कर्ष सुनाएको जिकिर गर्दै ओलीले सरकार सम्पूर्ण रूपमा असफल भएको दाबी गरे। मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले सरकारको एकमात्रै एजेण्डा एमालेको विरोध गर्नु रहेको दावी गरे।
सरकारसँग सुशासनको, भ्रष्टाचार अन्त्यको र आम नेपाली जनताको समस्या समाधान गर्ने कुनै योजना नभएको बताए। अध्यक्ष ओलीले सरकार असफल भएकै कारण जनतामा आक्रोश थपिँदै गएको तर्क गरे।
ओलीले भने, ‘अहिलेको गठबन्धन राष्ट्रियता र सुशासनप्रति कमजोर छ। विकासप्रति चासो नै छैन। चालू भएका आयोजना बन्द भएका छन्। थप कुनै योजना, आयोजना छैनन्। यो गठबन्धनको उद्देश्य नेकपा (एमाले)को विरोध हो। एमालेलाई अघि बढ्न नदिनु हो। एमालेलाई बदनाम गर्नु हो। एमालेको चरित्र हत्या गर्नु हो। किसान, मजदुरका समस्या समाधान गर्ने कुनै योजना छैन। यो गठबन्धन पूर्ण असफल भयो। सरकारको असफलताले देश गरिबी र अराजकतातिर जाँदो छ। जनतामा असन्तुष्टि बढ्दो छ।’
अध्यक्ष ओलीले सरकारको असफलताले देशमा गरिबी बढिरहेको बताए।













