
- कपिलवस्तुका सशस्त्र प्रहरी वरिष्ठ हवल्दारमाथि कुटपिट गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष होम प्रकाश चौधरी विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ।
- प्रहरीले उपाध्यक्ष चौधरीलाई नियन्त्रणमा लिई अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
- कानुन हातमा लिएर सुरक्षाकर्मीमाथि आक्रमण गरेको भन्दै उपाध्यक्षको कार्यशैलीको चौतर्फी आलोचना भइरहेको छ।
कपिलवस्तु । कपिलवस्तुमा सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दार भीम बहादुर चौधरी माथि कुटपिट गरेको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी उर्फ (लाला चौधरी) विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ ।
घटनापछि होम प्रकाश चौधरी विरुद्ध सशस्त्र प्रहरी बलको किटानी जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको हो । अहिले उक्त घटनालाई लिएर होम प्रकाश चौधरी कानुनी घेराभित्र तानिएका छन ।
होम प्रकाश चौधरी विरुद्ध अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए ।
प्रारम्भिक अनुसन्धान अनुसार, होम प्रकाश चौधरीले सशस्त्र प्रहरीका वरिष्ठ हवलदार माथि हातपात गरेको पुष्टि हुने आधारहरू फेला परेको प्रहरी स्रोतले जनाएको छ ।
घटना सार्वजनिक भएसँगै होम प्रकाश चौधरी को कार्यशैलीमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। जनप्रतिनिधि भएर पनि कानून हातमा लिने होम प्रकाश चौधरी को व्यवहारप्रति स्थानीय तहमा तीव्र आलोचना भइरहेको छ।
कानून कार्यान्वयन गर्ने निकायमाथि नै आक्रमण गर्ने होम प्रकाश चौधरी को कदमलाई धेरैले “अस्वीकार्य र आपराधिक प्रवृत्ति” भन्दै कडा कारवाहीको माग गरेका छन्।
प्रहरीले भने, होम प्रकाश चौधरी विरुद्धको अनुसन्धान निष्पक्ष र कानुनी प्रक्रिया अनुसार अगाडि बढिरहेको स्पष्ट पारेको छ।













