
- कपिलवस्तुको महाराजगञ्जमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा एक बालक र दुई पुरुष रहेका छन्।
- प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ स्थित गैडहवा चोकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु भएको छ।
बुधबार बिहान करिब ७ बजे तौलिहवातर्फ जाँदै गरेको ना २ ख २३६४ नम्बरको मदिरा बोकेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेका पैदलयात्री तथा साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्थानीय १२ वर्षीय आनन्द कश्यप, महाराजगञ्ज नगरपालिका–३ निवासी ७५ वर्षीय भोलई कुर्मी र ४५ वर्षीय विजयकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।
दुर्घटनापछि प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।













