
- अर्घाखाँचीको पाणिनी गाउँपालिकामा मानसिक स्वास्थ्य र आत्महत्या रोकथामसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो।
- मानसिक स्वास्थ्य समस्या लुकाउनुको साटो समयमै पहिचान गरी परामर्श र सहयोग लिनुपर्नेमा जोड दिइयो।
- विद्यालय तहदेखि नै मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनसम्बन्धी शिक्षा समावेश गर्नुपर्ने आवश्यकता औँल्याइयो।
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामसम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनालले मानसिक स्वास्थ्यलाई स्वस्थ जीवनको महत्वपूर्ण पक्षका रूपमा लिनुपर्ने बताए । उनले मानसिक समस्यालाई लुकाएर राख्दा समस्या झन् जटिल बन्न सक्ने भएकाले समयमै पहिचान गरी समाधानको उपाय खोज्नुपर्नेमा जोड दिए ।
खनालले पछिल्लो समय बढ्दो महत्वाकांक्षा, अरूसँग आफूलाई तुलना गर्ने प्रवृत्ति तथा अपेक्षाअनुसार उपलब्धि हासिल गर्न नसक्दा मानसिक तनाव बढ्न सक्ने बताए । मानसिक स्वास्थ्य समस्याको समाधानका लागि मस्तिष्क र मनबीच सन्तुलन कायम गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।
मानसिक स्वास्थ्यसम्बन्धी सचेतना विद्यालय तहदेखि नै सुरु गर्नुपर्नेमा जोड दिँदै खनालले आधारभूत तहमा मानसिक स्वास्थ्यसम्बन्धी पाठ्यक्रम, माध्यमिक तहमा आध्यात्मिक शिक्षा तथा उच्च तहमा तनाव व्यवस्थापनसम्बन्धी विषय समावेश गर्न आवश्यक रहेको धारणा राखे । यसले विद्यार्थीमा सानैदेखि मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्न तथा तनाव व्यवस्थापन गर्ने क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने उनले बताए ।
मानसिक स्वास्थ्य समस्या कुनै कमजोरी नभई समयमै पहिचान, उचित परामर्श र सहयोगबाट व्यवस्थापन गर्न सकिने विषय भएकाले यसबारे खुलेर कुरा गर्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा मानसिक स्वास्थ्यको महत्व, मानसिक समस्याको पहिचान, तनाव व्यवस्थापन तथा आत्महत्या रोकथामका उपायबारे सचेतना अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो ।
मानसिक स्वास्थ्यप्रति समाजमा रहेको संकोच र गलत धारणालाई हटाउँदै समस्यामा परेका व्यक्तिलाई परिवार, समुदाय तथा सम्बन्धित निकायबाट आवश्यक सहयोग र परामर्श उपलब्ध गराउनु कार्यक्रमको महत्वपूर्ण सन्देश रहेको थियो ।













