काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार दशौँ चरणका अन्तिम दुई खेल हुँदैछ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुने पहिलो खेलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ। १५ अंक जोडेर तेस्रो स्थानमा रहेको थ्रीस्टार आज पाँचौँ जितको लक्ष्यसहित मैदान उत्रिँदैछ।
दुई खेल जितेर १३ औँ स्थानमा रहेको हिमालयन शेर्पा भने यो खेलमा जित दर्ता गर्दै सिधै १०औँ स्थानमा उक्लिने लक्ष्यमा छ । यस्तै दशरथ रंगशालामा साँझ ६ बजे हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथबीच प्रतिस्पर्धा हुँदैछ। ३ मा जित र ६ खेलमा बराबरी गरेको चर्च ब्वाइज यो खेलमा पनि अपराजित रहँदै सिधै दोस्रो स्थानमा उक्लिन चाहन्छ।
छैटौँ स्थानमा रहेको चर्च ब्वाइजको ९ खेलबाट १५ अंक छ। यस्तै तालिकाको दोस्रो स्थानमा रहेको सातदोबाटोले ९ खेलबाट १७ अंक जोडेको छ। आजको खेल जित उसले शीर्ष स्थानको जावलाखेल खेलसँग अंक बराबरी गर्नेछ।












