एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ।
नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै युएईले ब्याटिङ गरिरहेको छ।
नेपालले युएईको चार विकेट लिएको छ। नेपालका लागि ललितनारायण राजवंशीले चौथो सफलता दिलाए। उनले ९.१ ओभरमा रामेज शाहजादलाई १ रनमा आउट गरे। युएईले ९.१ ओभरमा चार विकेट गुमाउँदा ३५ रन जोडेको छ।
यस्तै करण केसीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा युएईका आर्यन लक्रालाई १३ रनमा आउट गरे। अघिल्लो ओभरमा १२ रनमा ललितनारायण राजवंशीको बलमा भीम सार्कीले बाउन्ड्रीमा क्याच मिस गर्दा उनले जीवनदान पाएका थिए। करणले युएईका वृत्य अरिवन्दलाई विकेटकिपर आसिफ शेखबाट ८ रनमा क्याच गराए।
यस्तै युएईका कप्तान मोहमद वासीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच गराएका थिए। उनले ८ बलमा ११ रन जोडे।
खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झाले स्थान बनाएका छन्। दीपेन्द्रले पछिल्ला पाँच खेलमा राम्रो ब्याटिङ गर्न सकेका छैनन्। तीन पटक दोहोरो अंकमा रन बनाउन चुकेका दीपेन्द्रले पछिल्ला पाँच खेलमा कुल ३४ रन मात्र बनाएका छन्।













