काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्धको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलामा आज पनि सुनुवाइ हुने भएको छ।
नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले दायर गरेको रिटमाथि सोमबारदेखि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको थियो। प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
रिटमाथि सोमबार भएको सुनुवाइमा निवेदक पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । आज सरकारी वकिल र मुख्यमन्त्री थापाका कानुन व्यवसायीको बहस हुनेछ। विपक्षीको बहस सकिएपछि निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । जवाफी बहस पनि सकिए आजै अदालतले फैसला सुनाउनेछ ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा बहस नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको छ। यसअघि तत्कालीन सभामुख बाबुराम गौतम समेतको हस्ताक्षर समावेश गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेका थापाले सर्वोच्चको फैसलापछि पद गुमाउनु परेको थियो।