बागलुङ । त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड गाउँपालिका-२ खर्बाङ बागलुङले आफ्नो स्थापनाको ६४ औँ जन्मोत्सव एवम् अभिभावक दिवस मंगलबार सम्पन्न गरेको छ ।
कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले त्रिभुवन नमुना मा.वि. गाउँपालिकाकै एउटा गरिमा रहेको भन्दै शिक्षण सिकाइ क्रियाकलाप सहित अतिरिक्त क्रियाकलाप तथा प्रशासनिक व्यवस्थापन अन्य विद्यालयले समेत अनुसरण गर्नसक्नुपर्ने बताए । उनले विद्यालयले सर्वाङ्गीण क्षेत्रमा प्राप्त गरेको उपलब्धि उदाहरणीय रहेको स्पष्ट पारे ।
साथै अध्यक्ष अधिकारीले गाउँपालिकाले अभिभावक विहीन एवम् बेसहारा र आर्थिक अभावका कारण विद्यालयको पहुँचसम्म पुग्न नसकेका बालबालिकाहरूलाई निशुल्क पठनपाठन गराउने गरी बाल आवास गृह निर्माण गरिरहेको समेत बताए ।
सोही कार्यक्रमको अवसरमा बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन बनले शिक्षालाई पढाईसँग भन्दा पनि दीपसँग रूपान्तरण गर्नुपर्ने भन्दै सीपयुक्त शिक्षाको पूर्वाधार निर्माणका लागि त्रिभुवन मावि हब बन्न सक्ने धारणा राखे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद भुसालले विद्यालयको साखलाई जोगाइराख्न शिक्षक, विद्यार्थी, अभिभावक एवं सरोकारवाला सबै दत्तचित्त भएर लाग्नुपर्ने बताए ।
त्यस्तै अवसरमा विद्यालयका प्रधानाध्यापक ढालमणि भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले अधिकतम शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने गरी प्रयत्न गरिरहेको भन्दै अभिभावक र सरोकारवाला सबैको रचनात्मक सुझावको अपेक्षा समेत गरे ।
त्यस्तै कार्यक्रममा बडिगाड गाउँपालिकाका सामाजिक विकास समिति प्रमुख एवम् वडा नं ७ का वडाध्यक्ष दिपेन्द्र बहादुर केसी, वडा नं. २ का वडाध्यक्ष ढाल प्रसाद शेरचन, वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य, वडा नं १ का वडाध्यक्ष बोम बहादुर थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेल, भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव खरेल, विद्यालयका पूर्व प्रधानाध्यापक प्रेम खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वार्षिकोत्सव कार्यक्रमको सुरुवातमा प्रभातफेरी सहित खर्बाङ र हाँडीखोला बजार पराक्रममा गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले नौमती बाजा प्रस्तुत गरेका थिए भने विद्यार्थीहरूले उत्पादन गरेको च्याउ प्रदर्शन सहित अतिथिहरूलाई मायाको चिनोको रुपमा उक्त च्याउ प्रदान गरिएको थियो ।त्यस्तै अवसरमा पिटी प्रदर्शन, कबड्डी, भलिबल सहित विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू समेत सम्पन्न गरिएको छ ।
विद्यार्थीहरूले विभिन्न जातजाति, भूगोल र सम्प्रदाय झल्किने विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको अवसरमा उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहन सहित पुरस्कृत गरिएको थियो ।
सोही अवसरमा विद्यालयको प्रवेशद्वार गेट निर्माण गर्नुहुने बडिगाड गाउँपालिका २ सिमलचौर निवासी होमनाथ अर्यालको परिवारलाई सम्मान गरिएको थियो ।भने विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगी समुह एवम् विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक शिव पोखरेलको स्वागत मन्तव्य एवम् शिक्षक कमल पौडेलले सञ्चालन गरेका थिए ।












