खानेकुरा पकाउँदा, आगो सल्काउँदा, विद्युतिय उपकरणहरु चलाउँदा हात वा अन्य भाग जल्न सक्छ । डढ्न सक्छ । यस किसिमको जलन वा पोलाई निकै पीडादायक हुन्छ । साथसाथै पोलेको वा डढेको भागमा पछिसम्म दाग रहिरहन्छ ।
जलन वा पोलाई अप्रत्यासित हुने दुर्घटना हुन् । खासगरी घरमै काम गरिरहेको बखत यस किसिमको दुर्घटना हुनसक्छ । यस्तो अवस्थामा घाइतेलाई तत्काल के गर्ने ? पूर्व तयारी र जानकारी हुनुपर्छ ।
हुन त दुर्घटना भइसकेपछि उपचार गर्नुभन्दा त्यसअघि नै आवश्यक सावधानी अपनाउनु राम्रो हुन्छ । आगोले पोल्ने, तातो तेल वा पानीले पोल्ने कुरामा सावधानीपूर्वक काम गर्नुपर्छ । विद्युतिय उपकरणको प्रयोग अघि पनि सावधानी अपनाउनुपर्छ । साथसाथै आगोले चाडै टिप्ने खालको पहिरन लगाउनु हुँदैन ।
बालबच्चाको हकमा अझ बढी सावधानी अपनाउनुपर्छ । घरमा जथाभावी विद्युतिय उपकरणहरु राख्नु हुँदैन । बालबच्चाले चलाउने स्थानमा त्यस्ता उपकरण राख्नु हुँदैन । तातो पानी वा आगोको छेउछाउ खेल्न दिन हुँदैन ।
आगोले छाला पोल्ने बित्तिकै सबैभन्दा पहिले के गर्ने?
– सबैभन्दा पहिले पोलेको भाग चिसो बनाउनुपर्छ।
– तापक्रमले झन् खराब गर्ने भएकाले आइस लगाएर वा पानीले भिजाएर भएपनि चिसो बनाउनुपर्छ।
– पोलेको भाग चिसो बनाउँदा थप क्षति हुन पाउँदैन।
– गाउँघरमा पाइने घ्यूकुमारी लगाउँदा पनि पोलेको भागमा सितल प्रदान गर्छ।
– पोलाइ गहिराई छ भने घरेलु उपचारमा अल्झिनु हुँदैन। अस्पताल नै जानुपर्छ।
आगोले छाला पोलेमा प्राथमिक उपचार के हुन्छ?
– सबैभन्दा पहिले आगोले छाला कत्तिको गहिराई र भाग पोलेको छ भनेर बिचार गर्नुपर्छ।
– छालाको धेरै भाग पालेको छैन भने चिसो लगाउने या पानीले सफा गरेर एन्टीबायोटिक क्रिम लगाउन सकिन्छ।
– तर धेरै गहिरो र धेरै भाग आगोले पोलेको छ भने घरमा उपचार गर्नुभन्दा सकेसम्म छिटो स्वास्थ्य संस्था जानुपर्छ।
– आगोले धेरै नै पोलेको छ भने शरीरमा पानीको मात्रा कम हुने, सोडियम, पोटासियम कम हुने र संक्रमण हुने संभावना बढ्छ।
– पोलाई गहिरो छ तर समयमै उपचार भएन भने छालामा दाग बस्ने, छाला कस्सिने समस्या हुन्छ।
जाडोमा धेरै आगो ताप्दा पनि छालामा समस्या देखिन सक्छ?
– हट वाटर व्याग र लामो समयसम्म दैनिक आगो ताप्दा खुट्टाको नशाहरु बाहिर देखिने भएर आउँछ।
– छालाहरु धेरै कालो हुने, डढ्ने, कक्रक्क हुने समस्या हुन्छ।
– यी समस्या आगो ताप्न छोडेको केही समयपछि आफैँ ठिक भएर पनि जान्छ।
– आगोले पोल्दा फोका उठेको छ, घाउँ नै भएको छ भने अस्पताल नै जानुपर्छ।
पोलेको घाउको समयमै उपचार नगर्दा यसले निम्त्याउने जटिलताहरु के–के छन्?
– सतहमा रातो मात्र भएको छ की पानीको फोका नै आएको छ भनेर हेर्नुपर्छ।
– पोलाइको गहिराई जति बढी छ त्यसले असर त्यति नै बढी हुन्छ।
– पानीको फोका आएर छालाको एक तह गयो भने संक्रमण हुने संभावना हुन्छ।
– पोलेको गहिराई र दुखाई बढी छ र समयमै उपचार पाएन भने बिरामीको मृत्यु समेत हुन सक्छ।












