पाणिनि गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न भई हाल सोही भवनबाट कार्य सम्पादन भईरहेको छ । भवन निर्माणका लागि दाताहरूबाट निशुल्क जग्गा लिइयो र उक्त जग्गामा भवन निर्माणको लागि नक्सांकन गरी निर्माण सुरु गरियो । भवन निर्माण सम्पन्न भइसके पश्चात गाउँपालिकाको भवनको केही भाग गाउँपालिकाको जग्गामा नभई अर्कैको जग्गा रहेको कुरा सतहमा आएको छ ।
भवन निर्माण लागि पर्याप्त जग्गा हुँदाहुँदै पनि अर्काको जग्गामा भवनका केही भाग निर्माण गरिनुले नियत माथि प्रश्न उठेको छ । नक्सा निर्माण गरी निर्माण कार्य सुरु गरिएको भवनको केही भाग अर्कैको जग्गामा कसरी पर्छ ? निर्माण कार्य शुभारम्भ हुँदै गर्दा किन जग राख्न दिइयो ? यसको जवाफ सम्बन्धित इन्जिनियरले दिनुपर्देन ?
विवादपछि गाउँपालिकालाई उक्त जग्गा खरिद गर्न लगाइदैछ । जसको लागि पालिकाको २१ लाख बजेट छुट्याइएको सुन्नमा आएको छ । इन्जिनियरले गरेको लापर्बाहीका कारण जनताको राजस्वबाट संकलित बजेट स्वाहा पर्ने काम हुँदैछ । जग्गाधनीसँग मिलेर इन्जिनियरले यसो गरेको हुन सक्ने शंका पनि गरिएको छ । कतै पैसा खाने षड्यन्त्र त होइन जनताले किन शंका नगर्ने ?
दाताबाट प्राप्त करिव ८ रोपनी जग्गा भवन निर्माणका लागि पर्याप्त हुँदाहुँदै पनि अनुमति र सम्झाैता बिपरित अर्कैको जग्गामा निर्माण गरिनु, निर्माण सम्पन्न हुँदासम्म पनि इन्जिनियर तथा प्राविधिक शाखाले वास्ता नगर्नु, निर्माण सम्पन्न भए पश्चात यि कुरा सतहमा आउनु जनताले शंका गर्ने बलिया कारण हुन् । यसमा लाखौँ रकम हिनामिना पार्ने उद्देश्य लुकेको पो हो की ? किन इन्जिनियर शाखाले भवन निर्माणको क्रममा पिलर उठाउँदा आफ्नो जग्गामा उठाएन कतै जग्गा धनसँग मिलेर भवनको नक्सांकन भएको त होइन ?
एउटा इन्जिनियरले वा इन्जिनियर शाखाले गरेको गल्तिका कारण भएको गलत निर्माणको आर्थिक भार पुरा पालिका बासीलाई किन ? जनतालाई गुम्राहामा पारेर बजेटको दुरुपयोग गरिदै छ । यदि पर्याप्त जग्गा हुँदाहुँदै अर्काको जग्गामा परेको हो भने पाणिनि प्राविधिक शाखाले यसको जिम्मेवारी लिनु पर्छ पालिकाको बजेटले किन्न पाइदैन । मनलाग्दी गर्न पाइदैन । पालिका तथा सम्बन्धित पक्ष समयमै साेचोस् र जिम्मेवार बनोस् ।