दोहा, कतार । “आपसी सहयोग सद्भाव र एकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ सन् २०१८ मा कतारमा स्थापित नवलपरासी सेवा समाज कतारको तेस्रो साधारण सभा तथा अधिवेशन यहि आउँदो शुक्रबार कतार च्यारिटीको हल न्यु सलातामा हुने भएको छ ।
नवलपरासी जिल्लाको विभिन्न स्थानबाट कतारलाई कर्मभुमी बनाएर बस्नुभएका सम्पुर्ण नवलपरासी वासि दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकत्रित गर्दै जिल्लावासिहरुलाई आइपर्ने समस्याहरुमा मल्हम बन्ने निश्चल उद्देश्यका साथ संस्था स्थापना गरिएको बताउँदै अधिवेशनलाई सफल बनाइदिनका लागि समाजका अध्यक्ष कृष्ण पन्थीले दोहाबासी सम्पुर्णमा आग्रह गरेका छन् l समाचार पोस्ट सङ्ग कुरा गर्दै पन्थीले नेपाली राजदूतावास दोहा कतारका नियोग उपप्रमुख कुमार राईले समुद्घाटन गर्ने अधिवेशनबाट आगामी एक कार्यकालका लागि चुस्त दुरुस्त नयाँ कार्यसमिति चयन हुने बताएका थिए l
साधारणसभा तथा अधिवेशन शुक्रबार मध्यान्ह १२ बजेबाट शुरु हुनेछ । कार्यक्रममा कतारमा रहेका आईसीसी पदाधिकारी, एनसीसी कतार लगायत कतारमा स्थापित विभिन्न जिल्ला , प्रदेश, जातीय,वर्गिय , वैचारिक एवम् सामाजिक संघ संस्थाहरु, समाजसेवी, सामाजिक अभियन्ताहरू, पत्रकारहरू, व्यवसायी लगायत कतारमा रहेका सम्पुर्ण नेपालीहरूलाई समाजले निमन्त्रणा गर्दै साधारणसभा तथा अधिवेशन कार्यक्रमलाई भव्यताका साथ सफल पारिदिनका लागि आग्रह समेत गरेका छन् ।