अर्घाखाँची । छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति नहुँदा भिडियो एक्सरे सेवा सञ्चालन हुन सकेको छैन ।
प्राथमिक केन्द्रमा दुई वटा भिडियो एक्सरे मेसिन रहेपनि दक्ष जनशक्तिको अभावमा एक वर्षदेखि भिडियो एक्सरे सेवा सञ्चालन हुन नसकेको केन्द्रका प्रमुख विष्णु खनालले बताए ।
अहिले सेवाग्राही भिडियो एक्सरे गर्न जिल्ला अस्पताल सन्धिखर्क र निजी क्लिनिकमा जान बाध्य छन् । सबैभन्दा बढी गर्भवती महिलाहरू मर्कामा परेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका र गुल्मीको छत्रकोटसम्मका सेवाग्राही आउने गरेका छन् ।