सुजिता श्रेष्ठ,
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको १२औं अधिवेशन तथा वार्षिक साधारण सभा शनिवार बुटवलमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै नैतिक पत्रकारिता आजको आवश्यकता भएकाले पत्रकारहरुले आफ्नो हकहितका लागि मात्रै नभएर पेसागत मर्यादाको पालना समेत गरि उत्तरदायित्व वहन गर्नुपर्नेमा नेपाल पत्रकार महासंघ का केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले जोड दिए। पत्रकारिता राज्यका अन्य अङ्गहरूलाई सुधार्न र सही मार्गमा जान खबरदारी गर्ने र झक्झकाउने सबैभन्दा महत्त्वपूर्ण अङ्ग मानिएको क्षेत्र भएकाले नेपाल पत्रकार महासंघमा आबद्ध पत्रकारहरुले नागरिकहरुले अपेक्षा गरे अनुरुप ईमान्दारिताका साथ पेसागत मर्यादाको पालना गरि दायित्व वहन गर्न सुझाव दिए।
अन्तरकृयात्मक साधारण सभा मार्फत पत्रकारहरुको समस्या पहिचान गरि समस्या समाधानका लागि पत्रकारहरुको हकहितमा राज्यलाई खबरदारी गरि निरन्तर आवाज उठाई रहेको र नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको साथमा सदैव रहेको बताए। उनले पत्रकारहरुले आफ्नो हकअधिकारका लागि निस्वार्थ र स्वतन्त्र भएर एकजुट हुनुपर्ने बताए। पत्रकारहरुका समस्या र चुनौतीका समाधान गर्ने उद्देश्यका साथ पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको स्थापना भएको उनले बताए।
नेपाल पत्रकार महासंघमा आवद्ध रहेका पत्रकार हरुले संस्थालाई बलियो बनाउन महत्वपुर्ण भुमिका खेल्नु पर्नेमा समेत जोड दिएका थिए। सबैले पत्रकार शुद्धीकरण अभियानलाई घटनाका रुपमा नलिई निरन्तर चलिरहने प्रकृयाका रुपमा बुझ्न आग्रह गरे। पत्रकारिता क्षेत्रमा देखिएका विकृति , विसङ्गति र उठिरहेका प्रश्नहरुलाई निरुत्साहित गर्दै शसक्त र सवल पत्रकारिताको विकास र उदाहरणीय पेसागत क्षेत्रको निर्माण गर्ने उद्देश्यका साथ नेपाल पत्रकार महासंघले शुद्धीकरण अभियानलाई अघि बढाएको बताए।
पत्रकारिता क्षेत्र राज्यको गरिमामय पेसागत क्षेत्र भएकाले सम्पूर्ण पत्रकारहरुले पेसागत मर्यादाको पालना गरि असल संस्कृति र संस्कार निर्माण गर्ने उद्देश्यका साथ पत्रकारिता पेसामा लाग्नुपर्ने प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए। पत्रकारिता पेसामा आउने नयाँ युवापुस्तालाई नेपाल पत्रकार महासंघले सौहार्दपूर्ण वातावरण प्रदान गर्नुपर्नेमा जोड दिए। नेपाल पत्रकार महासंघ पत्रकारहरुको साझा संस्था भएकाले साझा चरित्रहरुको ससम्मान गर्नुपर्ने उल्लेख गरे।
राज्यसँग पत्रकारिता र पत्रकारहरुको नितिगत जिम्मेवारी,हक हितको सुनिश्चित गराई नेपाल पत्रकार महासंघको जिल्ला देखि केन्द्रसम्मका नेतृत्वमा रहेका पदाधिकारी लगाएत कार्य समितिले पूर्ण रुपमा पारदर्शी निर्णय र नितिगत कार्यान्वयन गर्नुपर्ने सुझाव दिए।
रुपन्देहीका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ बुटवल उपमहानगरपालिका सदैव पत्रकारहरुको साथमा रहेको बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रा अर्यालले बताईन्। रुपन्देहीको पत्रकारिता क्षेत्रको विकास गर्ने र बुटवललाई समृद्धिको बाटोमा अग्रसर रुपमा लैजान नेपाल पत्रकार महासंघ रुपन्देहीसँग निरन्तर समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरिन्। उनले रुपन्देहीका महिला पत्रकारलाई प्रोत्साहन स्वरुप आर्थिक सवल बनाउने सँगै सबै पत्रकार र मिडियाहरुलाई समान दृष्टिले समेट्नुपर्छ भन्ने लक्ष्यका साथ बुटवल उपमहानगरपालिका पत्रकार र मिडिया मैत्री बनेको बताईन्।रुपन्देहीको पत्रकारिताको विकास, सम्वर्द्धन, प्रवर्द्धन र गुणस्तरीयतामा अग्रसर रहेर योगदान पुर्याउने अग्रज १० जना पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ रुपन्देहीको तर्फ बाट सम्मान व्यक्त गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले धन्यबाद ब्यक्त गरे ।
उनले नेपाल पत्रकार महासंघ रुपन्देही निरन्तर रुपमा रुपन्देहीका पत्रकार र पत्रकारिता पेसाको नितिगत जिम्मेवारी र हकहितमा लागि परिरहेको बताए। कार्यक्रममा १० जना स्वर्गीय पत्रकारका परिवारलाई मरणोपरान्त सम्मान गरिएको थियो। कार्यक्रममा सहभागी पत्रकारहरुले समस्या र चुनौतीको अझै पनि समाधान हुन नसक्दा आफ्नो हकहितका लागि आवाज उठाउनुपर्ने बताउदै पत्रकारहरुले सेवा र सुविधाको सहि उपयोग गर्न पाउनुपर्ने गुनासो गरे।
कार्यक्रममा अग्रज पत्रकार तथा निरन्तर रुपमा सक्रिय पत्रकारहरुलाई मूल्याङ्कन र गुणस्तरीयताका आधारमा सम्मान गरिएको थियो।