काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्।
सर्वोच्च अदालतको परमादेश बमोजिम प्रदेश प्रमुख डिल्लीराज भट्टले कांग्रेस संसदीय दलका नेता पाण्डेलाई बुधबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
उनी प्रदेशसभामा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा संविधानको धारा १६८ (३) बमोजिम नियुक्त भएका हुन्।
तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले पाएको भनिएको विश्वासको मत सर्वोच्च अदालतले अवैध ठहर गर्दै उपधारा (३) बमोजिम पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।
अब दोस्रोपटक मुख्यमन्त्री नियुक्त पाण्डेले पनि ३० दिन भित्र विश्वासको मत लिनु पर्नेछ। त्यसबेला विश्वासको मत नपाएको अवस्थामा उपधारा ५ बमोजिम अन्तिम विकल्पमा सरकार गठन हुनेछ।
सत्ता गठबन्धन फेरिएसँगै पाण्डेलाई पनि विश्वासको मत नपुग्ने देखिएको छ।