भाषालाई व्यवस्थित गर्ने काम व्याकरणले गर्छ । व्याकरण बिनाको भाषा र भाषा बिनाको सभ्य समाजको परिकल्पना सम्भव पनि हुँदैन । संस्कृत भाषा नै मानव सभ्यताको प्राचीनतम, वैज्ञानिक र समृद्ध भाषाहरू मध्येको एक हो। यस भाषाको संरचना, नियम र प्रयोगलाई एक निश्चित ढाँचामा ढाल्ने कार्य महान भाषाविद् पाणिनीले गरेका हुन्। पाणिनीले रचना गरेको ‘अष्टाध्यायी’ नामक व्याकरण ग्रन्थ केवल संस्कृत भाषा मात्र होइन, सम्पूर्ण भाषाशास्त्रको इतिहासमै एक अद्वितीय ग्रन्थ एवं महत्त्वपूर्ण सामग्रीको दस्तावेजका रुपमा लिनु आवश्यक छ ।
पाणिनीको अष्टाध्यायी व्याकरणले संस्कृत भाषालाई स्पष्ट, नियमबद्ध र वैज्ञानिक स्वरूप प्रदान गरेको छ । यस व्याकरणले शब्दको उत्पत्ति, रूपान्तरण, वाक्य रचना, ध्वनि परिवर्तन आदि सबै पक्षहरूलाई सूक्ष्म रूपमा वर्णन गर्छ। यसले संस्कृत भाषा सिक्न र पढ्न सजिलो मात्र बनाएको छैन, अपितु यो भाषालाई हजारौँ वर्षसम्म सुरक्षित राख्न पनि मद्दत गरेको छ। व्यवस्थित सूत्र प्रणालीको वैज्ञानिक उपयोगको पद्धतिलाई पाणिनीले व्याकरणीय नियमहरूलाई सूत्रात्मक रूपमा प्रस्तुत गरेका छन्। उदाहरणका लागि, ‘इको यणचि’ भन्ने सूत्रले ध्वनि परिवर्तनको स्पष्ट नियम दिन्छ । यस्तो सूत्र पद्धति संक्षिप्त, स्मरणीय र बौद्धिक अभ्यासका लागि उपयुक्त हुन्छ। अष्टाध्यायीमा लगभग ३९५९ सूत्र छन्, जसले समग्र संस्कृत व्याकरणलाई समेटेका छन्।
प्राचीन एवं आधुनिक भाषाशास्त्रको सेतु
पाणिनीलाई आधुनिक भाषाशास्त्रको पिता पनि भनिन्छ। पाश्चात्य भाषावैज्ञानिकहरू जस्तै फर्डिनान्ड डी सस्सुर, नोम चोम्स्की आदि पाणिनीको व्याकरण प्रणालीबाट प्रभावित थिए। पाणिनीले संरचनात्मक भाषाशास्त्रको जुन ढाँचा विकास गरे, त्यो आधुनिक भाषाशास्त्रमा औपचारिक व्याकरण को आधार बन्न पुगेको छ। यो व्याकरणले प्राचीन एवं आधुनिक भाषाशास्त्रको सेतुका रुपमा समेत काम गरेको छ ।
त्यतिमात्र होइन, धार्मिक र सांस्कृतिक संरक्षणमा योगदान पुर्याउने कामसमेत पाणिनिको व्याकरणले गरेको छ । हिन्दू धर्मका प्राचीन ग्रन्थ वेद, उपनिषद्, पुराण, स्मृति आदि ग्रन्थहरू संस्कृत भाषामै लेखिएका छन् । यस्ता ग्रन्थहरूको शुद्ध र स्पष्ट अध्ययन गर्न पनि पाणिनी व्याकरण अपरिहार्य छ । यसले संस्कृति, धर्म, दर्शन र अध्यात्मको संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेलेको छ। प्रविधिको उच्चतम प्रयोगका सन्दर्भमा पनि पाणिनिको व्याकरणका सूत्र र नियमहरूको संरचना कम्प्युटर विज्ञान र प्रोग्रामिङ भाषाहरूको विकासमा समेत महत्त्वपूर्ण मानिन्छ ।
Noam Chomsky को transformational grammar सिधै पाणिनीको अष्टाध्यायीबाट प्रभावित रहेको तथ्य धेरै अनुसन्धानहरूले प्रमाणित गरिसकेका छन्। विभिन्न भाषाहरूमा पाणिनी व्याकरणको प्रभाव नेपाली, हिन्दी, मराठी, बंगाली, गुजराती लगायतका भारतीय भाषाहरूको व्याकरण निर्माणमा पनि परेको छ। पाणिनीको ढाँचालाई आदर्श मानेर भाषाहरूको शब्द र वाक्य संरचना तयार गरिएको पाइन्छ।
यसरी हेर्दा पाणिनीको व्याकरण केवल भाषाको नियमहरूको संग्रह मात्र होइन, यो एक जीवन्त परम्परा हो, जसले भाषालाई जोगाउन, बुझाउन र अगाडि बढाउन मार्गदर्शन गरेको छ। यस्तो वैज्ञानिक, दार्शनिक र सांस्कृतिक मूल्य बोकेको व्याकरण सम्पूर्ण मानव सभ्यताका लागि गर्वको विषय हो।