काठमाडौं ।
माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन) ले असार २८ गते बसेको केन्द्रीय समितिको विस्तारित बैठकले गरेको निर्णय सार्वजनिक गर्दै विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
युनियनका अध्यक्ष टिकाप्रसाद न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तिअनुसार अस्थायी शिक्षक कर्मचारीलाई स्थायीकरण गर्नुपर्ने मागसहित सरकारसँग संवाद र दबाबका कार्यक्रम अघि बढाइने जनाइएको छ। विज्ञप्तिमा असार २८ को निर्णयअनुसार शिक्षामन्त्रीसँग भएको छलफलमा शिक्षकहरूको पेशागत समस्या समाधान नगरेको भन्दै आगामी दिनमा थप सशक्त आन्दोलन गरिने चेतावनी दिइएको छ ।
निर्णयअनुसार भदौ २ र ३ गते स्थानीय तह, जिल्ला र प्रदेश समितिहरूले ध्यानाकर्षण पत्र बुझाउने, भदौ ४ र ५ गते देशभरका माध्यमिक तहका शिक्षकहरूले कालोपट्टी बाँधी अध्यापन गर्ने, र भदौ ६ गतेदेखि शिक्षकहरू विद्यालय उपस्थित भएर पनि पढाइ नगरी विरोध जनाउने कार्यक्रम तय गरिएको छ । यस्तै, अस्थायी प्रकृतिका शिक्षक कर्मचारीसँग छलफल र सहमति गर्दै आवश्यक परे दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिने उल्लेख छ । देशभरका शिक्षकबीच सूचना प्रवाहका लागि आवश्यक बैठक र सहकार्य समिति गठन गर्ने निर्णयसमेत गरिएको छ।












