२४ जेठ, सिरहा । सिरहामा एसईई र कक्षा–१२ को परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध विद्यार्थी संगठनहरूले विरोध प्रदर्शनको घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय सिरहाको अगाडि सोमबार दिउँसो १२ बजे प्रदर्शन गरिनेछ । प्रदर्शनमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आह्वान गरिएको छ ।
मोबाइल फोनको उचित क्षतिपूर्ति उपलब्ध गराउन, विद्यार्थी माथिको दमन अन्त्य गर्न तथा पीडित विद्यार्थीलाई न्याय सुनिश्चित गर्न दबाब दिने उद्देश्यले प्रदर्शन गर्न लागिएको हो । अनेरास्ववियु मधेश प्रदेश संयोजक सतिशचन्द्र सिंहले भने, ‘प्रदर्शनको उद्देश्य सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुका साथै विद्यार्थीका माग सम्बोधन गर्न दबाब सिर्जना गर्नु हो ।’












