
- कपिलवस्तुको विजयनगरबाट पेस्तोलसहित तीन जना युवा पक्राउ परेका छन्।
- स्थानीयलाई धम्क्याएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
- साथबाट एक थान पेस्तोल र मोटरसाइकल बरामद गरी थप अनुसन्धान भइरहेको छ।
कपिलवस्तुको विजयनगर गाउँपालिका–४, जगदिशपुरबाट पेस्तोलसहित तीन जना पक्राउ परेका छन्।
कृष्णनगर नगरपालिका–८ बहादुरगन्ज क्षेत्रमा स्थानीयलाई डर–धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको भन्ने सूचना पाएपछि खोजी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५ डबराका २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर–८ दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र सोही स्थानका १९ वर्षीय विनोद कश्यप रहेका छन्।
उनीहरूको साथबाट एक थान पेस्तोल र लु.६१ प.७०७२ नम्बरको १२५ सीसी मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













