काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शनिबार तीन खेल हुँदैछ।
लिगको ११औँ चरण अन्तर्गत शनिबार दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा एफसी खुमलटार र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ। १० खेलमा १० अंक जोडेर १२ औँ स्थानमा रहेको खुलमटार चौथो जितको योजनामा हुनेछ।
१० खेलमा १५ अंक जोडेर छैटौँ स्थानमा रहेको मनाङ पाँचौं जितको खोजीमा छ । दशरथ रंगशालामै साँझ ६ बजे हुने दोस्रो खेलमा जावलाखेल युथ र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ। १० खेलबाट २० अंक जोडेर शीर्ष स्थानमा रहेको जावलाखेल सातौं जितको खोजीमा हुनेछ।
समान खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा रहेको चर्च ब्वाईज जावलाखेललाई पराजित गरेर शीर्ष स्थानमा उक्लिन चाहन्छ।
त्यस्तै च्यासलमा दिउँसो ३ बजे मछिन्द्र फुटबल क्लब र फ्रेण्ड्स क्लब भिड्ने छन्। १० खेलमा १३ अंक जोडेर नवौँ स्थानमा रहेको मछिन्द्र चौथो जितको योजनामा छ । १० खेलमा ११ अंक जोडेर ११ औं स्थानमा रहेको फ्रेण्ड्स पनि चौथो जितको योजनामा छ।












