नैतिक शिक्षाको आवश्यकता किन ?

आजको मान्छे नैतिकताबाट टाढिँदै गएको छ । व्यभिचार, छल, कपट, चोरी डकैतीमा मानिस बढी रमाउन थालेको छ । मानिसले नैतिकता भन्ने कुरा नै भुलेको छ । कुनै पनि सभ्य नागरिकको पहिचान भनेको नैतिकता भनेर स्वीकार गरिए तापनि आज त्यही नैतिकता विहीन अवस्थामा मानव समुदाय पुग्न लागेको होकी भन्ने चिन्ता व्याप्त छ । त्यसैले पनि नैतिक शिक्षा आजको आवश्यकता जस्तै भएको छ । 

नैतिक शिक्षा प्राप्त गर्ने मुख्य थलो विद्यालय र घरपरिवार हो । वास्तवमा नैतिक शिक्षा लिनु जीवनको तेस्रो नेत्र खोल्नुजस्तै हो । शिक्षा कोक्रोबाट सुरु भएर चितामा अन्त्य हुन्छ त्यसैले नैतिक ज्ञानले सुमार्गमा डोर्‍याउँछ । मान्छेलाई लोभ, अहङ्कार, खिचातानी जस्ता अनेकन दलदले हिलोमा पनि स्वच्छ कमल झैँ शोभायमान हुन सिकाउँछ । युग बदलिन्छ, आवश्यकता बदलिन्छ, समाजको आकाङ्क्षा बदलिन्छ तर मानिसका लागि सुखको आवश्यकता र खुसीको चाहना कहिल्यै बदलिँदैन । यसर्थ आजका पुस्तामा नैतिकताको बिजारोपण गरिनु अति आवश्यक छ । त्यो बीजमा घामपानी, माटो, गोडमेल अनि उचित स्याहारको खाँचो छ । भोलिको भविष्यको बागडोर सुम्पने युवा पुस्तामा नैतिकताको सन्देश हस्तान्तरण गरिनु निकै चुनौतीपूर्ण देखिए पनि आवश्यक छ ।

‘नीति र इक’ मिलेर बनेको नैतिक शब्दसँग मितेरी गाँस्न पुगेको पवित्र ‘शिक्षा’ शब्दभित्र जीवनको जादु छ । आदर्श भावनाको एक अपरिमेय ज्ञानपुञ्ज पुष्पित छ । यही पुष्पगुच्छाभित्र मानिसले खोजेको सुख पनि त छ । गङ्गाझैँ पावन पवनले हृदयको कल्मष धुने खुबी राखेजस्तै पवित्र हुन्छ– नैतिक शिक्षा । मानिसलाई मानिसकै स्वरूपमा बाँच्न सिकाउने आधार । जीवन र जगतको व्यावहारिक सार्थकता पढाउने अनि समृद्धिका सोपानमा चढाउने भर्‍याङ पनि हो नैतिक शिक्षा । श्रवणकुमारका कथा किन प्रिय हुन्छन्, बुद्धका सन्देश किन मननीय हुन्छन्, सीताको आदर्श र रामको कथामा किन व्यक्तिस्वार्थ तुच्छ हुन्छ किनकि त्यहाँ नैतिकता छ । “असतोमा सत् गमय” को भाव छ । “तमसोमा ज्योतिर्गमय” को चिन्तन छ । जीवन र जगतको सान्दर्भिकताभित्र मानवताको सुन्दर उपवन त्यहाँ मग्मगाउँदो अनि हर्हराउदो हुनुपर्छ ।

जहाँ नैतिकता प्रबल देखिनु पर्ने हो त्यस ठाउँमा नैतिकताको नै अभाव खड्किएको जस्तो देखिन्छ । विद्यालयलाई शिक्षाको मन्दिर भनिन्छ तर त्यही मन्दिर भित्र गैर जिम्मेबार, कमिसन, भ्रष्टाचार, ढिलासुस्ति, कामचोर प्रवृत्ति, अराजकता, नातावादकृपावाद, पार्टीबाद, परिवारवाद, व्यक्तिवाद, जातीवाद र अतिवाद समेतको अखडा बनाइएको छ । यो अत्यन्त दुखद् हो । छोराछोरीको भविष्य उज्वल बनाउनु नै आजका आमाबाबुको पहिलो सपना हो । यो प्राप्तिका लागि उनीहरूले धेरै कठिनभन्दा कठिन कामलाई पनि सहर्ष स्वीकार गरेका हुन्छन् । हाम्रो वर्तमान शिक्षाप्रणालीले कारिन्दाभन्दा ठालु र बाबु–साहेव उत्पादन गरिरहेको छ । हाम्रोजस्तो विकासोन्मुख देशमा डिग्री पास गरेको भोलि पल्टैदेखि उसले आफ्नै खुट्टामा उभिएर काम गर्नसक्ने हुनुपर्ने हो । प्राविधिक–व्यावहारिक ज्ञानवाला शिक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ । यसप्रकारको शिक्षामा सीप र दक्षतालाई नै बढी जोड दिइएको हुन्छ । तर हाम्रो शिक्षाले सामाजिक संस्कार, त्यसको मर्म र भावनासँग मेल खाएको देखिदैन । पारिवारिक, सामाजिक, सांस्कृतिक मूल्य–मान्यतासहितको नैतिक शिक्षा दिन आवश्यक ठानिएको छैन । व्यक्तिको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनका लागि तथाकथित ठूलो होइन । असल, कर्तव्यनिष्ठ र इमान्दार व्यक्ति हुनु आवश्यक छ । तर आजको हाम्रो शिक्षाले त्यो गरेको देखिदैन । पहिले पहिले शिक्षामा व्यक्तिको नैतिक मूल्य–मान्यता, इमान्दारिता, सहिष्णुता र कर्तव्यजस्ता विषयलाई प्राथमिकतामा राखिन्थ्यो । यसर्थ पहिलेका बहुसंख्यक मानिस तेजिला, कर्तव्यपरायण, नैतिकवान् र इमान्दार हुने गर्दथे । तर आजको शिक्षा प्रणालीको परिवार, समाज र राष्ट्रप्रतिको कर्तव्यमा जोड्नेतर्फ ध्यान गएको देखिँदैन । नैतिक शिक्षाको अभावकै कारण देशमा अहिले गुण्डागर्दी, तोडफोड, प्राकृतिक सम्पदाहरूको अवैज्ञानिक दोहन र संस्थागत भ्रष्टाचार फस्टाउँदै आएको छ । नैतिक शिक्षा कमजोर भएको अवस्थामा स्वच्छ परिवार, स्वच्छ समाज र स्वच्छ देशको परिकल्पना नै गर्न सकिँदैन । तसर्थ सभ्य, सु–संस्कृत र समृद्ध समाज र देश निर्माणका लागि नैतिक शिक्षामा जोड दिनु आजको आवश्यकता हो । आधुनिकताका नाममा प्राचीन तथा पुराना शिक्षा पद्धतिलाई बिर्सिंदा शैक्षिक उपलब्धि धेरैजस्तो देखिए तापनि गुणात्मक रूपमा त्यो उपलब्धिले खासै महत्त्व नराख्ने निश्चित छ ।

नैतिक शिक्षाले हामीलाई यथार्थको द्वारसम्म पुर्याउँछ । नैतिक शिक्षाले यहि अन्तर्दृष्टि वा आत्म ज्ञान प्राप्तिका लागि साधनहरूको खोजी गर्दछ र आन्तरिक ज्ञान प्राप्तिको लागि मानवलाई प्रेरणा दिने काम गर्दछ । अतः शिक्षालाई नैतिक, सस्कारयुक्त  र मानव मूल्य, मान्यतालाई प्रवर्द्धन गर्न सकिने गरि विकास गरिनु आवश्यक छ । यसको लागि संघ, प्रदेश तथा स्थानीय तह सबैको ध्यान जान आवश्यक छ जसले यान्त्रिकीकरण हुदै गरेको नेपाली समाजलाई थोरै भएपनि मानवमूल्ययुक्त, नैतिक र संस्कारयुक्त बनाई राख्न सहयोग पुग्दछ । अस्तु ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?