
- सामाजिक सञ्जाल सूचनाको शक्तिशाली माध्यम भए पनि यसको गैरजिम्मेवार प्रयोगले समाजमा गम्भीर चिन्ता र अराजकता बढाएको छ।
- अनुमतिबिना अरूको निजी भिडियो बनाउने, सार्वजनिक अपमान गर्ने र एआईको दुरुपयोगले व्यक्तिको गोपनीयता तथा सामाजिक मर्यादामाथि सीधा प्रहार गरिरहेको छ।
- यो अराजकता नियन्त्रण गर्न प्रयोगकर्ता जिम्मेवार बन्नुपर्छ र राज्यले डिजिटल अपराधीहरूलाई कानुनी कठघरामा ल्याउन स्पष्ट नीति र कार्यान्वयन आवश्यक छ।
नेपालमा सामाजिक सञ्जाल सूचना आदान–प्रदानको शक्तिशाली माध्यमका रूपमा स्थापित भइसकेको छ। केही वर्षअघिसम्म सीमित पहुँचमा रहेको डिजिटल प्लेटफर्म आज हरेक नागरिकको हातमा पुगेको छ। सूचना, विचार र अभिव्यक्तिको स्वतन्त्रता विस्तार गर्ने यो माध्यमले समाजलाई धेरै सकारात्मक अवसर पनि दिएको छ। तर पछिल्ला दिनमा यही सामाजिक सञ्जाल गैरजिम्मेवार प्रयोगका कारण गम्भीर चिन्ताको विषय बन्दै गएको छ।
डिजिटल क्रान्तिले संसारलाई जोड्नुपर्नेमा, हाम्रो समाजमा भने यसले “भाइरल” हुने नाममा अराजकता निम्त्याइरहेको छ। कसैको अनुमतिबिना उसको भिडियो खिच्ने, सामाजिक सञ्जालमा अपलोड गर्ने र त्यसलाई गलत अर्थ लगाएर सार्वजनिक रूपमा अपमानित गर्ने कार्य अहिले एक सामान्य दिनचर्या जस्तै बनेको छ। अझ त्यसमा कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग गरी बनाइएका “डिपफेक” र भ्रमपूर्ण भिडियोहरूले आगोमा घिउ थप्ने काम गरेका छन्। यो केवल प्रविधिको प्रयोग होइन, यो व्यक्तिको बाँच्न पाउने अधिकार र सामाजिक मर्यादामाथिको नाङ्गो हस्तक्षेप हो।
आजभोलि बाटोमा हिँड्दा होस् वा सार्वजनिक स्थलमा, कोही मानिस समस्यामा परेको छ भने उसलाई सहयोग गर्नुको सट्टा क्यामेरा तेर्स्याउने जमात ठूलो छ। भ्यूज र लाइकका लागि कसैको आँसु, कसैको निजी पल वा कसैको लाचारीलाई बेचिनु नैतिक पतनको पराकाष्ठा हो। अनुमतिबिनै अरूको दृश्य कैद गरेर कन्टेन्ट बनाउनेहरूले बिर्सिरहेका छन् कि उनीहरूले कसैको जीवन बर्बाद पारिरहेका हुन सक्छन्।
एआई जेनेरेटेड भिडियोहरूले त झन् समाजमा भ्रमको खेती गरिरहेका छन्। कसैले नबोलेको कुरा बोलेजस्तो बनाउने वा नगरेको काम गरेजस्तो देखाउने प्रविधिले व्यक्तिको चरित्र हत्या मात्र होइन, साम्प्रदायिक र राजनीतिक अशान्ति फैलाउन ठूलो भूमिका खेलिरहेको छ। यस्ता भ्रामक सामग्रीहरूले समाजमा घृणा फैलाउने र मानिसहरूबीचको विश्वासलाई टुटाइरहेका छन्।
लोकतान्त्रिक समाजमा अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण अधिकार हो। तर यो स्वतन्त्रता अराजकताको लाइसेन्स होइन। अरूको गोपनीयता, प्रतिष्ठा र सामाजिक शान्ति खल्बल्याउने गतिविधि स्वतन्त्रताको नाममा जायज ठहरिन सक्दैन। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि आफ्नो जिम्मेवारी बुझ्न जरुरी छ । कुनै सामग्री पोस्ट गर्नु अघि त्यसले कसैलाई अन्याय त गर्दैन ? समाजमा गलत सन्देश त फैलाउँदैन ? भन्ने प्रश्न आफैंले सोध्न आवश्यक छ।
यससँगै राज्यको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ। डिजिटल अपराध, गोपनीयता उल्लंघन र एआई प्रविधिको दुरुपयोग रोक्न स्पष्ट कानुनी व्यवस्था र प्रभावकारी कार्यान्वयन आवश्यक छ। जबसम्म यस्ता “डिजिटल अपराधी”हरूलाई कानुनी कठघरामा ल्याइँदैन, तबसम्म यो स्वेच्छाचारिता रोकिनेवाला छैन। तर नियमनको नाममा अभिव्यक्ति स्वतन्त्रतालाई अनावश्यक रूपमा कुण्ठित गर्ने प्रयास भने हुन हुँदैन। सन्तुलित, पारदर्शी र लोकतान्त्रिक ढंगले डिजिटल क्षेत्रलाई व्यवस्थित गर्ने नीति आवश्यक छ।
अभिव्यक्ति स्वतन्त्रताको अर्थ अरूको मर्यादा र गोपनीयताको चीरहरण गर्नु पक्कै होइन। प्रविधिको नाममा भइरहेको यो अराजकताले हाम्रो सामाजिक संरचनालाई नै खोक्रो बनाउँदैछ। यदि समयमै यसलाई नियन्त्रण गरिएन भने, भोलि हामीमध्ये कोही पनि सुरक्षित रहने छैनौँ। भाइरल हुने अन्धो दौडभन्दा मानवीय संवेदना र कानुनको पालना ठूलो हो भन्ने कुरा सबैले बुझ्न जरुरी छ।












