काठमाडौं । बंगलादेशमा आइतबार सम्पन्न विवादस्पद आम निर्वाचनमा भारत र अमेरिकाले फरक मत सार्वजनिक गरेका छन्।
विपक्षीको बहिस्कार भएको निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिग तथा सहयोगीहरुले ३ सय सिटमा दुई तिहाईभन्दा ठूलो जित निकालेका छन्। जसलाई अमेरिकाले निष्पक्ष र स्वतन्त्र नभएको टिप्पणी गर्दै प्रश्न उठाएको छ।
अमेरिकाले हजारौँ विपक्षी दलका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरी निर्वाचन गराइएको र न्यून मात्रामा मत खसेका बुथहरुमा समेत धाँधली गरिएको आरोप लगाउँदै स्वतन्त्र र निष्पक्ष नभएको निष्कर्ष निकालेको छ।
साथै सत्ता गठबन्धनबाहेक कुनै पनि दल सहभागी नभएको निर्वाचन निष्पक्ष नहुने भन्दै अमेरिकाले निर्वाचनको अघिल्लो महिना भएको हिंसाको अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न सुझाव दिएको छ।
तर, छिमेकी भारतले भने शान्तिपूर्ण निर्वाचन भएको भन्दै सरहाना गरेको छ। भारतीय निर्वाचन आयोगको तीन सदस्यीय प्रतिनिधि मण्डलले बंगलादेशको केन्द्रीय निर्वाचन सम्बन्धी निकायले सावधानीपूर्वक योजना बनाएको र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेको निष्कर्ष सार्वजनिक गरेको हो।
भारतीय अधिकारीले बंगलादेशमा शेख हसिनाको लगातार चौथो तथा समग्रमा पाँचौ प्रधानमन्त्रीत्व कालमा सम्बन्ध थप सुधार हुने र सहकार्य बढ्ने अपेक्षा गरेका छन्।













