कञ्चनपुर । अवैधरूपमा अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा भीमदत्त नगरपालिका–१८ क्याम्पस रोडबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले एक भारतीयसहित तीनजनालाई पक्राउ गरेको छ।
ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बिहीबार प्रेस विज्ञप्ति जारी गरी पक्राउ पर्नेमा भारतको नयाँ दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमद, दोधारा चाँदनी नगरपालिका–७ का ४० वर्षीय प्रवीण खड्का र भीमदत्त नगरपालिका–१० जिमुवाका ४७ वर्षीय दीपक बोहरा रहेको जनाकारी दिए ।
पक्राउ परेकाबाट कल वाइपास गर्ने कार्यमा प्रयुक्त ल्यापटप दुई थान, कम्प्युटर मोनिटर, लाइन केबुल दुई थान, मोबाइल सेट तीन थान, युपिएस र ब्याट्री नेपाल टेलिकमको ल्याण्डलाइन नम्बर ०९९५९७००० को ६० लाइन क्षमता भएको एसआइपी पीबीएक्स कनेक्सन लाइन एक, गेटवे सर्भर सिपियु एक थान, एनटीसी एफटीटीएच वाइफाइ राउटर एक थान, वर्डलिङ्क वाइफाइ राउटर एक थानलगायत बरामद गरीएकाे छ ।
चार महिनादेखि भारतीय र नेपाली नागरिक मिलेर भाडाको घरमा नेपाल टेलिकमको एसआइपी पीबीएक्स कनेक्सन गरी कल वाइपास गर्दै आएका थिए । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।













