काठमाडाैं । पूर्वप्रधानमन्त्री नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को व्याख्यात्मक टिप्पणीमा प्रश्न उठेको बताएका छन् ।
सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले एमसीसीको व्याख्यात्म टिप्पणीबारेमा प्रश्न उठेकाले त्यसबारेमा समितिमा छलफल हुन आवश्यक रहेको बताए । उनले राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरु देखिएको भन्दै त्यसतर्फ पनि गम्भीर हुन आग्रह गरे । उनले सीमानासँग जोडिएका विषयवस्तुहरु चुनौतिको रुपमा आइरहेको भन्दै छलफल र संवादबाट टुंग्याउनुपर्ने बताए ।
अध्यक्ष नेपालले संयुक्त राष्ट्रको बडापत्रदेखि असंलग्न परराष्ट्र नीतिका सबै कुरालाई ध्यानमा राखेर अघि बढ्न आवश्यक रहेको बताए ।