बागलुङ । बागलुङको गलकोट नगरपालिका वडा नंं १० पाण्डवखानी स्थित पाण्डवखानी माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६० औँ वर्ष पुरा गरेको अवसरमा हीरक जयन्ती भव्य रुपमा मनाउने भएको छ ।
वि.सं. २०१८ सालमा स्थापना भएको विद्यालयले यही मसिंर २९ गतेदेखि पौष ३ गतेसम्म विविध कार्यक्रमका साथ विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने मुख्य उद्धेश्य राखेर हीरक महोत्सव मनाउने भएको हो ।
धार्मिक, सांस्कृतिक रुपमा छुट्टै पहिचान बोकेको पाण्डवखानी भौगोलिक विकटता र चेतना तथा शैक्षिक रुपमा पछाडी रहेकाले हीरक महोत्सवलाई सदुपयोग गरी यसक्षेत्रको शैक्षिक विकासलाई अगाडी बढाउने मुख्य अभिप्रायका साथ हीरक महोत्सव मनाउन लागिएको विद्यालयका प्रधानाध्याक नरबहादुर सुनार “नविन”ले जानकारी दिए । सरकारी तवरबाट आउने बजेटको मात्रै भर नपरेर हीरक महोत्सवको अवसरमा पूर्व विद्यार्थी तथा दाताहरुबाट सहयोग संकलन गरी विद्यालयको शैक्षिक स्तर वृद्धि गर्ने प्रमुख लक्ष्य रहेको उनको भनाई छ ।
समुदायकै व्यक्तिहरु सक्रिय भई स्थानीय समुदायकै चन्दा सहयोग र देउसी भैलो खेलेर स्थापना गरिएको विद्यालयलाई प्रविधिमैत्री बनाउन र युगानुकुल शिक्षालाई जोड दिन हीरक महोत्सव कोशेढुंगा सावित हुने आफुहरुको विश्वास रहेको विद्यालयका संस्थापक प्रधानाध्यापक एवम् संरक्षक नीरज पुनले जानकारी दिए । विगतमा विद्यालय स्थापना कालका संघर्षलाई स्मरण गर्दै उनले पूर्व विद्यार्थीहरु, स्थानीय समुदायको सहयोगबाटै हीरक महोत्सव पनि भव्य रुपमा सम्पन्न हुने बताए ।
विद्यालयले अल्पकालिन र दिर्घकालिन दुईवटा लक्ष्य राखेर हीरक महोत्सव सञ्चालन गर्दैछ । हीरक महोत्सवका अवसरमा सञ्चालन हुने सहयोग संकलन अभियानबाट संकलित रकमले शिक्षकहरुको कार्यक्षमता वृद्धि गर्ने, ईच्छुक विद्यार्थीहरुलाई शैक्षिक ऋण उपलब्ध गराएर उच्च शिक्षामा पठाउने तथा आवासीय सुविधा सहित प्राविधिक शिक्षा सञ्चालन गर्ने र स्नातक तह सञ्चालन गर्ने मुख्य उद्धेश्य राखेको पुनको भनाई छ ।
तैयारीका काम चल्दै
हीरक महोत्सव सञ्चालन गर्ने मिति तय भएसंगै विद्यालयले तयारीका कामहरुलाई अगाडी बढाएको छ । प्रारम्भिक चरणमा विभिन्न तयारी समिति गठन तथा देश विदेशमा रहेका पूर्व विद्यार्थीहरुबीच जनसम्पर्क जोड्ने लगायतका कामहरु अगाडी बढाईएको विद्यालयले जनाएको छ ।
महोत्सव सम्पन्न गर्न पूर्व विद्यार्थी डा. दिपक काउचाको सयोंजकत्वमा हीरक महोत्सव मूल कार्यकारिणी समिति गठन गरिएको छ । जसको सह(संयोजकमा सुवेदार रेशम श्रीस र खड्क थापा तथा सचिवमा तुल बहादुर बि.क लगायत रहेका छन्। बाँकी रहेका पदाधिकारी एवं सदस्यहरुलाई पछि थप गरी १ सय ५१ सदस्यीय मूल कार्यकारिणी समिति निर्माण गरिने विद्यालयका प्रधानाध्यापक नरबहादुर सुनार “नविन”ले जानकारी दिए ।
त्यस्तै प्रधानाध्यापक सुनारकै संयोजकत्वमा १० सदस्यीय पूर्व विद्यार्थीहरु सम्पर्क तथा समन्वय समिति गठन गरिएको छ । जसको सदस्यहरुमा छम बहादुर काउचा, टेक बहादुर पुन “प्रकाश”, चन्द्र कुमारी श्रीस “आशा”, दल बहादुर घर्ती “दिप”, पवित्रा बइक, लोक कुमारी श्रीस, माया घर्ती, कृति घर्ती र चन्द्रकला पुन लगायत रहेका छन् ।
यता सु।चन्द्रलाल काउचा, सुवेदार रेशम श्रीस, हवल्दार गंगा बहादुर घर्ती पुन, हवल्दार चित्र बहादुर पुन र हवल्दार कर्ण बहादुर पुन सम्मिलित सबै देशमा सेवारत सेना तथा प्रहरीहरु सम्पर्क समन्वय समिति निर्माण गरिएको छ ।
त्यस्तै गठित नेपाल सरकारका शिक्षक(कर्मचारी सम्पर्क तथा समन्वय समितिमा तुल बहादुर वि।क।, रत्नमाया सुनार, बुद्धमान श्रीस, प्रकाश श्रीस, खर्क बहादुर सुनार, गायत्री काउचा थापा नन्द बहादुर पुन, दिलमाया श्रीस, पवित्रा दर्जी, विद्या श्रीस, तथा लेखा समितिमा गिरिप्रसाद थापा, धनबहादुर थापा ९सुनार०, पृथ बहादुर श्रीस, विनिता पाइजा, कीर्ति घर्ती लगायत रहेका छन् ।
बिहिवार विद्यालयमा सम्पन्न तैयारी बैठकले कार्तिक १८ गते शनिबार पोखरामा र १९ गते बुटवलमा सम्पूर्ण पाण्डवखानीबाट वसाईसरी गएका तथा रोजगारीका लागि कर्मथलो बनाएका सम्पूर्णलाई भेटघाट गर्ने कार्यक्रम तय गरिएको विद्यालयले जनाएको छ ।
वि.सं.२०१८ सालमा कुन्ता माता प्राथमिक विद्यालयको नामबाट स्थापना भएको विद्यालय वि।स २०३६ सालमा निम्न माध्यमिक तह हुँदै वि.सं. २०४५ सालबाट माध्यमिक तहसम्म सञ्चालन हुँदै आएको छ । विद्यालयमा हाल कक्षा १(१२ सम्म झण्डै ३ सय,५० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।














