गुरुकुलीय संस्कृत शिक्षाप्रतिको आकर्षण बढ्दो

हाम्रा परम्परागत मूल्य, मान्यता, नैतिकता एवम् संस्कारको जरैसम्म पुगेर शिक्षा प्रदान गर्ने संस्कृत गुरुकुलहरु यतिबेला विद्यार्थीहरुले भरिभराउ देखिन थालेका छन् । यसै सन्दर्भमा नेपालकै सर्वाधिक चर्चित र व्यवस्थित मानिएको तनहु जिल्लास्थित पवित्रस्थल देवघाटमा रहेको महेश संस्कृत गुरुकुलमा कक्षा-६ मा प्रवेशका लागि लिखित परीक्षा सम्पन्न भएको छ । जसमा लगभग २५० परीक्षार्थीमध्ये ६० जना विद्यार्थी उत्तीर्ण भएका छन् भने गुरुकुलका लागि ३०जनामात्र विद्यार्थी आवश्यक रहेको गुरुकुलका प्राचार्य फणिन्द्रराज पौडेलले बताए ।

कतै विद्यार्थीहरुको खडेरी त कतै विद्यार्थीहरुको थेगिनसक्नुको चाप । नैतिकता र सस्कारको अभाव महसुस सबैतिर हुँदैजादा पछिल्लो समय गुरुकुलीय संस्कृत शिक्षाको पुनर्जागरणजस्तै भइरहेको छ । संस्कृत शिक्षाप्रतिको आकर्षणसँगै संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थी र विद्यालयको सङ्ख्या पनि ह्वात्तै बढेको छ । प्राचीन कालदेखि नै रहँदै आएको संस्कृत विद्याको परम्परालाई निरन्तरतामात्र नभई आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने उद्देश्यले देशका विभिन्न ठाउँमा विद्यालय तहमा मात्र नभई उच्च तहसम्म संस्कृत शिक्षाको पठनपाठन भइरहेको छ । उच्च शिक्षासम्मको संस्कृत शिक्षाको नेतृत्व नेपाल संस्कृत विश्वविद्यालयले गरेको छ ।

संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सम्वर्द्धनका साथै संस्कृत भाषाभित्र सञ्चित रहँदै आएका मानवका लागि उपयोगी ज्ञान–विज्ञान हासिल गर्न यस्तो शिक्षा फलदायी हुने विश्वास गरिँदै आइएको छ । संस्कृत शिक्षाप्रतिको आकर्षण बढेसँगै पछिल्लो समय चितवन, पोखरा, रुपन्देही, कपिलवस्तु, झापा लगायत देशका विभिन्न जिल्लाहरूमा संस्कृत गुरुकुल आश्रमहरु सन्चालित छन् ।

हाम्रो पूर्वीय सभ्यताको जननी संस्कृत भाषालाई हामीबाट विस्थापित गराउन पश्चिमाहरु र तिनीहरुका भक्तहरुले ठूलो कसरत गरे । एक हदसम्म उनीहरु सफल पनि भए । आज पू्र्खाले नासोका रुपमा दिएको त्यो भव्य संस्कृति अनि सस्कृत भाषालाई इतिहासको विषयका रुपमा सीमित गराउने प्रयासलाई विफल पार्नको लागि यस्ता गुरुकुलहरु कोशेढुङ्गा सावित हुँदै गएका छन् ।

देवघाटको महेश सन्यास आश्रम समितिले श्री महेश सन्यास संस्कृत गुरुकूल विद्याश्रम सञ्चालनमा ल्याएको छ । विसं २०५० सालमा स्वामी रामानन्द गीरिको नेतृत्वमा महेश सन्यास आश्रमको स्थापना भएको थियो भने २०५२ सालमा महेश सस्कृत गुरुकुल सन्चालन एवं अध्ययन अध्यापन हुँदै आएको थियो । वि.सं. २०५२ सालदेखि सञ्चालनमा आएको उक्त गुरुकुलमा २२५ जना विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयका प्राचार्य फणिन्द्र पौडेलका अनुसार गुरुकुलले कक्षा ६ मा विद्यार्थी भर्ना लिई आचार्य तहसम्म अध्यापन गराउने उद्देश्यले गुरुकुल तथा विद्यापीठ सञ्चालनमा ल्याइएको हो प्राचार्य पौडेलले बताए । हाल गुरुकुलमा कक्षा ६ देखि आचार्य कक्षासम्म अध्यापन भइरहेको छ । गतवर्ष एसइई परीक्षामा सहभागी विद्यार्थीहरुमध्ये शतप्रतिशत विद्यार्थीहरु उतीर्ण भएको जानकारी महेश छात्र परिषद्का सस्थापक अध्यक्ष डा. उमेशप्रसाद घिमिरेले जानकारी दिए ।

तनहुको देवघाटस्थित गुरुकुलमा आवासीयरूपमा नै विद्यार्थीलाई संस्कृत शिक्षा अध्यापन गराइँदै आइएको छ । गुरुकुलमा परम्परागततर्फ संस्कृत व्याकरण, ज्योतिष, कर्मकाण्ड, संस्कृत भाषा, न्याय तथा वेदान्त दर्शन विषय र आधुनिकतर्फ अङ्ग्रेजी, नेपाली, गणित र सामाजिक विषय अध्यापन गराइँदै आएको जानकारी अध्यक्ष घिमिरेले दिए ।

महेश सन्याश गुरुकूलमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी उपनिषद् घिमिरेले आफ्नो सानैदेखिको रुचि संस्कृत शिक्षा भएकै कारण संस्कृत शिक्षा अध्ययन गरेको बताए । संस्कृत शिक्षाले आफूलाई सन्तुष्टि प्रदान गरेको र आफ्नो अध्ययन पनि यसैमा अघि बढाउने भनाइ उनको छ । संस्कृत शिक्षाले बोलीमा स्पष्टता, उच्चारण गर्ने शैलीको विकास, शब्द चयनमा मिठास, उदार तथा आफ्नो माटोप्रतिको भक्तिको भावना प्रदान गरेको अनुभव आफूसँग भएको विद्यार्थी घिमिरेको भनाइ छ । गुरुकुलका शिक्षक सन्तोष गीरिका अनुसार विद्यार्थीले प्रत्येक दिन साझ- बिहान मन्दिरमा आरती समेत गर्ने गरेका छन् । समयानुकूलका शैक्षिक तथा प्राज्ञिक जनशक्ति उत्पादन गर्न संस्कृत शिक्षा फलदायी हुने भनाइ गीरिको छ ।

उक्त गुरुकुलमा अध्ययन गर्ने विद्यार्थीका लागि आवासीय सुविधा छ । नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषता सम्पन्न राष्ट्र भएकाले विविध धर्म, संस्कृति, सभ्यता, इतिहास, कला, वास्तुकला, रहनसहन, रीतिरिवाज तथा सयौँ जातजातिका भाषा भाषिकाको अध्ययन, अनुसन्धान र संरक्षणमा सहयोग पुग्ने विश्वास गीरिको रहेको छ । विद्याश्रम सरोकारवालाबाट निकै राम्रो साथ र सहयोग पाउँदै आएको र आगामी दिनमा पनि संस्कृत शिक्षाको विकास र विस्तारमार्फत हाम्रा प्राच्य ऋषिमहर्षिहरूको तपस्याबाट सिर्जित ज्ञानराशिलाई आम जनसमक्ष पुर्‍याउनका लागि यो शिक्षा फलदायी हुने उनले बताए ।

spot_img
[reaction_buttons_post]
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?