back to top
३१ असार २०८१, सोमवार
IPL 2024
IPL 2024
३१ असार २०८१, सोमवार
IPL 2024
spot_img

कालिञ्चोक’ महाकाव्यको विमोचन एक समीक्षा : समीक्षक डा. उमेशप्रसाद घिमिरे

Workplace

काठमाडौं ।

Workplace

पौरस्त्य नव्यन्याय दर्शनमा संस्कृत विश्व-विद्यालयबाट आचार्य तथा त्रिविबाट नेपाली विषयमा एमए र कानुन विषयसमेत अध्ययन गर्नु भएका अनि लामो समय सर्वोच्च अदालतमा वकालत गर्नु भएका वरिष्ठ अधिवक्ता रामचन्द्र घिमिरे ‘वियोगी’ द्वारा लिखित ‘कालिञ्चोक’ शीर्षक महाकाव्यको काठमाडौँस्थित पद्‌मकन्या कलेजको ‘डेनिस´ सभाकक्षमा आयोजित विशिष्ट समारोहमा मिति २०८१ जेठ ३० गते शुक्रबार , ज्येष्ठ शुक्ल अष्टमी तिथिमा विमोचन गरिएको थियो। श्रीमती भगवती घिमिरेद्वारा प्रकाशित उक्त महाकाव्यको विमोचन समारोह ऐतिहासिक तथा अनुपम रहेको छ।

नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. डा. भागवत ढकालज्यूको सभापतित्व तथा नेपाल संस्कृत विश्वविद्यालयका परिकल्पनाकार एवम् संस्थापक शिक्षाध्यक्ष प्राध्यापक विद्यानाथ उपाध्यायज्यूको प्रमुखातिथ्यमा समायोजित उक्त समारोहमा नेपाली साहित्यका लब्धप्रतिष्ठित व्याक्तित्वहरू : नेपाल संस्कृत विश्वविद्यालयका पूर्व कुलसचिव एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव, प्राध्यापक जगत्प्रसाद उपाध्याय, सर्जक तथा समालोचक प्रा.डा. मोहन तिमल्सिना, प्रा.डा. रामप्रसाद ज्ञवाली , प्रसिद्ध साहित्यकार रोचक घिमिरे, प्रा.डा. रामचन्द्र लम्साल विशिष्टातिथिको रूपमा सहभागी हुनु भएको थियो ।

त्यसैगरी कृति समीक्षकका रुपमा नेपाली साहित्यका विशिष्ट कवि तथा समालोचक डा. शैलेन्दुप्रकाश नेपाल, कृति समीक्षक तथा स्रष्टा प्रा. डा. लेखप्रसाद निरौला, छन्दकविताका अभियन्ता एवम् समालोचक प्रा. डा. देवीप्रसाद नेपाल, भक्तपुरका पूर्व क्यामपस प्रमुख प्रा. कृष्ण पोखेल, ने. सं. वि. प्राध्यापक संघका पूर्व सभापति प्रा. डा .शान्तिकृष्ण अधिकारीज्यू लगायतका विशिष्ट विद्वानहरुलाई मञ्चमा आसन ग्रहण गराइएको थियो।

समारोहमा समुपस्थित समस्त अतिथिगणलाई कविपुत्री उप प्रा. चारूभा घिमिरेज्यूले स्वागत गर्नभएको थियो भने प्रा.डा . मोहन तिमल्सिनाज्यूले महाकाव्यकार वियोगीको जीवनीगत परिचय दिनु भएको थियो। उहाँले रामेछापको सालुमा जन्मिएका वियोगी अध्ययनकालदेखि नै एक निडर, निर्भीक , जुझारु, प्रतिभाशाली व्यक्तित्वका रूपमा स्थापित, कुशल राजनीतिक अथक योद्धा एवम् अन्यायका विरुद्ध लड्ने वरिष्ठ अधिवक्ता हुनुहुन्छ र १. विद्रोह’ २.”रुन्छ आँसु चुहाई ` ३. “त्रिवेणी’ जस्ता कवितासंग्रह, ४ अन्तर्हृदय’ खण्ड‌काव्य ५. रोहिणी’ शोककाव्य, ६ भञ्ज्याङ’ महाकाव्य लेखन र प्रकाशन गरी नेपाली काव्यपरम्परामा उल्लेखनीय योगदान दिइसक्नु भएको र विमोचित ‘कालिन्चोक’ महाकाव्य जस्तो महत्वपूर्ण कृति नेपाली साहित्यमा सुम्पन सफल महाकाव्यकार वियोगीको सिर्जनायात्रा निरन्तर अघि बढिरहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो। त्यसपछि वाल्मीकि विद्यापीठकी छात्रा सन्तोषी श्रेष्ठले महाकाव्यका केही पद्य सुमधुर स्वरमा वाचन गरेकी थिइन् । डा. शैलेन्दु प्रकाश नेपालज्यूले ‘कालिञ्चोक´कृतिमाथि समालोचकीय टिप्पणी गर्नु भएको थियो। ५ जना छोरीको जन्मपश्चात् कालिञ्चोक भगवतीको भाकल गरेर मात्र छैटौँ सन्तानका रूपमा जन्मनुभएका कवि वियोगीले यसै जन्मगत सन्दर्भबाट अभिप्रेरित भएर आत्मतृप्तिसहित देवीको आरधना गर्ने उद्देश्यले नै ‘कलिञ्चोक´ महाकाव्य लेख्नु भएको हो भन्दै महाकाव्यमा न्यूनतम १००० श्लोक चाहिने मान्यतालाई तोडेर १२ सर्गमा जम्मा ६२६ मात्र श्लोकहरू प्रस्तुत काव्यमा रहेको टिप्पणी गर्नु भएको थियो। त्यसपछि पुन: वाल्मीकि विद्यापीठमा अध्ययनरत छात्र सुरज कौण्डिन्न्यायनले सुमधुर स्वर र लयमा महाकाव्यका केही श्लोकहरू वाचन गरेका थिए।

प्रा. डा. देवी नेपालज्यूले शुभकामना मन्तव्यका क्रममा साहित्य सिर्जनामार्फत साधनामय जीवन जिउने कवि रामचन्द्र घिमिरे वियोगीबाट योगी बन्नु भएको छ भन्ने अभिव्यक्ति राख्दै नेपाली महाकाव्यको परम्परा- सर्वेक्षण सहित ४६० औं महाकाव्यका रूपमा ‘कालिन्चोक` लाई स्वागतसहित निरन्तर काव्यलेखनको शुभकामना दिनु भएको थियो भने त्यसक्रममा उहाँले महाकाव्यका केही पद्यहरू सुमधुर स्वरमा गायन समेत गर्नु भएको थियो ।

प्रस्तुत महाकाव्यको सम्पादनको भूमिका समेत बहन गर्नुभएका प्रा. डा. लेखप्रसाद निरौलाज्यूले कृति- समीक्षाका क्रममा शीर्षक देखि लिएर आख्यान तन्तु, पात्र, परिवेश आदिको कुशल सन्तुलन देखिएको यस महाकाव्य अध्यात्म, प्रकृति र राष्ट्रियताको त्रिवेणी बनेको छ भन्दै त्यसमा पनि अध्यात्मपक्ष एवम् भगवतीकै सर्वोपरिता रहेको अभिव्यक्ति दिनु भएको थियो । कालिञ्चोक भगवतीको परिदृश्य / परिवेश चित्रणमा कवि अत्यन्त सफल रहनुभएको छ भन्दै नेपाली प्रकृतिको मनोरम चित्रणका माध्यमले राष्ट्रियता एवम् देशभक्ति मुखरित भएको विचार व्यक्त गर्नु भएको थियो । चतुष्पदी शार्दूलविक्रीडित छन्दमा कविता लेख्दै जाँदा ५ हरफ – ७ हरफसम्मका पद्य बनाउने वियोगीमा स्वच्छन्दतावादी प्रवृत्ति वा देवकोटेली शैलीको छनक प्राप्त हुन्छ भने देवकोटाले झैँ नेपाली शब्दकोशमा अप्राप्त नयाँ नयाँ शब्द निर्माण गर्ने प्रवृत्ति समेत वियोगीमा देखिन्छ । वीर, रौद्र, भयानक आदि रसहरू तथा शब्दालङ्कार अर्थालङ्कार आदिको समुचित समन्वय गरी लेखिएको ‘कालिञ्चोक´ महाकाव्य कलापक्ष र भावपक्ष दुवैदृष्टिले विशिष्ट रहेको मूल्याङ्कन गर्नु भएको थियो ।

शुभकामना मन्तव्यका क्रममा प्राध्यापक जगत्प्रसाद उपाध्यायज्यूले हाम्रो संस्कृति, दर्शन र सभ्यतालाई यस्तै लेखन, प्रवचन, भाषण, प्रकाशनका माध्यमले विश्वव्यापी रुपमा उत्खनन गर्नु आजको आवश्यकता हो भन्दै नेपालको प्रकृति, संस्कृति र राष्ट्रियतालाई एकसाथ अभिव्यक्त गर्न सफल कालिञ्चोक शीर्षक महाकाव्यका प्रतिभाशाली स्रष्टा वियोगीलाई यस्तै हृदयग्राह्य, मर्मस्पशी, राष्ट्रवादी काव्यहरू निरन्तर लेखिरहन शुभकामना दिनु भएको थियो।

शुभकामना मन्तव्यका क्रममा ने.सं. वि. अनुसन्धान केन्द्रका निर्देशक प्रा. डा. सुधनकुमार पौडेलज्यूले आध्यात्मिक भावसम्पन्न, प्राकृतिक सौन्दर्यपरिपूर्ण , रस तथा अलङ्कारको यथोचित सन्निवेश भएको कलात्मक तथा भावगभीर ‘कालिञ्चोक` महाकाव्यका स्रष्टा वियोगीलाई हार्दिक बधाई दिँदै भावी पुस्तालाई मार्गनिर्देश गर्ने यस्तै सन्देशमूलक काव्य सिर्जनामा लागिरहून शुभकामनासमेत दिनुभएको थियो। काव्यका कुनै कुनै श्लोक पढ्दा माधव घिमिरेका काव्यको समेत स्मरण हुन पुगेको भन्दै अन्यत्र नलागेर काव्य- सिर्जनामा मात्र लागेको भए स्रष्टा वियोगीबाट गहन काव्यहरू जन्मिने सम्भावना तथा लेखन सामर्थ्य कवि वियोगीमा रहेको भन्दै उहाँको लेखन कलाको प्रशंसासमेत पौडेलले गर्नुभएको थियो ।

महाकाव्यकार रामचन्द्रवियोगीले नेपाल र भारतमा समेत विख्यात न्यायविद्याधुरन्धर पं. पद्मप्रसाद भट्टराईको प्रेरणाबाट संस्कृतविद्याको अध्ययन प्रारम्भ गरी उहाँसँग नै न्यायदर्शन अध्ययन गर्ने अवसर प्राप्त गरेको र विद्यानाथ उपाध्याय आदि गुरुजनबाट संस्कृत विश्वविद्यालयमा पढाउन गरिएको आग्रहलाई नमानी व्यावहारिकरूपमा न्यायलाई प्रयोग गर्ने उद्देश्यले पुन: कानून विषय अध्ययन गरी अधिवक्ता पेसामा आफू होमिएको बताउँदै काव्य लेखन र प्रकाशन गर्ने प्रेरणा प्रसङ्ग उल्लेख गर्नुभयो । स्थापित रामेछापेली साहित्यकार जगदीश घिमिरेका घरमा “ रामेछापका विद्वानहरु” शीर्षक ग्रन्थमा आफ्नो उल्लेख नभेटेपछि आफ्नो नाम किन छैन ? भनी सोध्दा सम्बन्धित लेखक विद्वान्मित्रले पढेर मात्र विद्वान भइँदैन , लेख्नुका साथै प्रकाशन समेत गर्नुपर्छ भन्ने उत्तर पाएपछि आफूले २२ सालदेखि नै लेखेर राखेका कविताहरू सङ्कलन गरी प्रकाशन गरेको , आफू वादविवादमा सदैव प्रथम हुने भएकाले अध्ययनकालमा गुरुजनबाट वादविवाद प्रतियोगितामा भाग लिन वञ्चित भएको कुरा समेत उल्लेख गर्दै फोनको भरमा उपस्थित समस्त अतिथि सहभागी कविमनप्रति धन्यवाद ज्ञापनपूर्वक समस्त लेखक एवम् नवकविजनलाई नियमबन्धनको पछि नलागी जे आउँछ त्यो लेख्नुहोस् र प्रकाशन गर्नुहोस् भन्ने प्रेरण दिँदै आफ्नो लेखकीय मन्तव्य राख्नुभएको थियो ।
समारोहका प्रमुख अतिथि न्याय दर्शन तथा तन्त्रविद्याविशारद प्रा. विद्यानाथ उपाध्यायज्यूले ” कान्तासम्मिततयोपदेशयुजे ” काव्यलेखनको प्रयोजन उल्लेख गर्ने पङ्क्ति उद्धरण गर्दै कान्ता/ महिलामा पूज्यता आउने , शङ्कराचार्यले पनि ” शिवः शक्त्या युक्तः ” भन्दै इकार ( शक्ति ) को अभावमा शिव पनि शव ( लास) बन्ने भन्देै शक्तिको ठूलो प्राधान्य रहेको , पशुपतिदर्शन तथा नेपालभ्रमणका क्रममा ब्रह्मवादी शङ्कराचार्यले पनि अशक्त भएपछि देवीकै प्रेरणाले गुह्यकाली स्तोत्र लेखेको तथ्य प्रकट गर्दै न्यायका विद्वान् रामचन्द्र वियोगीज्यूले पनि काली भगवतीको स्तुति तथा शक्तिको उपासना गर्दै ´कालिञ्चोक` शीर्षक स्तुतिकाव्य एवम् महाकाव्य लेख्नुभएकोमा उहाँलाई साधनामय जीवन यापनकालागि शुभेच्छा सहित हार्दिक बधाई ज्ञापन गर्नुभएको थियो । देवीकै प्रेरणाले लेखिएको कालिञ्चोक महाकाव्यमा भाषा – छन्द – अलङ्कार – रस आदि के कति समेटिएका छन् ? त्यो समीक्षक वा पाठकले नै जान्लान् ” कविः करोति काव्यानि रसं जानन्ति पण्डिता: ” भनिएको छ । काव्यमा ” छन्दोभङ्गं नकारयेत् ” भनिएको छ तर ” भावभङ्गं नकारयेत् ” भन्नेमा चाहिँ कवि सचेत हुनु पर्नेमा जोड दिँदै संस्कृत पद्यमा नै कृतिको मूल्याङ्कन गर्नुभएको थियो ।

कालिञ्चोकमहाकाव्यं दुर्गास्तुतिपरा कृतिः ।
देव्याश्चरणयोभर्क्ति: रामचन्द्रेण ह्यर्प्यते ।।
कालिञ्चोकमहाकाव्यं रामचन्द्रवियोगिना ।
रचितं भक्तियोगेन लोकमोदाय तद्भवेत् ।।

दुर्गास्तुतिपरक `कालिञ्चोक महाकाव्य रचेर रामचन्द्र वियोगीद्वारा देवीको चरणमा भक्ति अर्पण गरिएको छ र भक्तियोगपूर्वक लेखिएको यस कृतिले लोकलाई समेत आनन्द प्रदान गर्नेछ भन्दै आफ्नो शुभांशमा मन्तव्य समापन गर्नु भएको थियो ।

 

समारोहमा कविपरिवारका तर्फबाट कवि वियोगीका कनिष्ठ सुपुत्र रमण घिमिरेज्यूले विमोचन समारोहमा समुपस्थित तथा कार्यक्रम सफल पार्ने समस्त सहयोगी जन तथा कविमन‌प्रति कृतज्ञतापूर्वक हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

अन्तमा सभाका अध्यक्ष वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. डा. भागवत ढकालज्यूले कवि वियोगीको वाक्कलाको प्रशंसा गर्दै प्रकृति , अध्यात्म र राष्ट्रप्रेमको त्रिवेणी बनेर आएको ´कालिञ्चोक` महाकाव्यले आध्यात्मिक जागरणका साथै प्राकृतिक वातावरणलाई चित्रण गर्न सफलता पाएको टिपणी गर्नुभएको थियो। सामान्य पारिवारिक घटना तथा पात्रलाई आधार बनाएर लेखिएको अधिकांश नेपाली महाकाव्य नाम दिइएका काव्यलाई महाकाव्य सिद्धान्तको कसीमा मूल्याङ्कन किन गर्ने ? र कसरी गर्नेमा पनि समीक्षक सचेत हुनुपर्ने भन्दै व्यङ्ग्यको विदग्धता, भाषाको प्राञ्जलता, अलङ्कारको छटा, आदर्श तथा अनुकरणीय व्यक्तिको नायकत्व आदिले युक्त विशिष्ट काव्यलाई मात्र महाकाव्य मान्न सकिने र सामान्य काव्यलाई समेत महाकाव्य मान्दा विशिष्ट महाकाव्यको अवमूल्यन हुने अभिव्यक्ति राख्दै ” वियोगीद्वारा सिर्जित “यो काव्य पौराणिक सन्दर्भ तथा प्राकृतिक पर्यावरणको खोज तथा क्षेत्रगत अध्ययन – अनुसन्धान गरी तयार पारिएको हुँदा ” कालिञ्चोक ” काव्य एक काव्यमात्र नभएर अनुसन्धान काव्य हो भन्ने मूल्याङ्कन सहित महाकाव्यकार वियोगीलाई निरन्तर काव्यसाधनामा लागिरहन शुभकामना तथा बधाइ अर्पण गर्दै विमोचन समारोहको समापन गर्नु भएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका लब्ध- प्रतिष्ठित प्राध्यापक , कुशल साहित्यसाधक तथा विशिष्ट समालोचकको उल्लेखनीय समुपस्थितिमा सम्पन्न ‘कालिञ्चोक’ महाकाव्य विमोचन समारोह अत्यन्त भव्य, सभ्य र रमणीय रहेको थियो भने विद्वत्तापूर्ण समीक्षण तथा टिप्पणीबाट यो काव्य अत्यन्त महत्त्वपूर्ण ज्ञानवर्धक, काव्यतत्त्वपरिपूर्ण भएकाले कालिञ्चोकको पौराणिक सन्दर्भ र पर्यावरणगत ज्ञानार्जनका लागि पठनीय तथा सङ्ग्रहणीय रहेको लेखकीय निष्कर्ष छ । अतः ´कालिञ्चोक` महाकाव्यलाई नेपाली महकाव्यपरम्परामा स्वागतपूर्वक कवि वियोगीज्यूलाई हार्दिक बधाई समर्पण गरिन्छ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?