प्रिय विद्यार्थीहरू,
स्नेहसहित अभिवादन।
आज म तिमीहरूसँग कक्षाकोठामा होइन, एक पत्रमार्फत मनको गहिरो भावना साट्न बाध्य छु । म त्यो शिक्षक हुँ, जसले तिमीहरूलाई अक्षर अनि शब्दको चिनारी दिएको थिएँ, ज्ञानको दीप जलाएको थिएँ , र जीवनका अनेकौं जटिलताहरूको अर्थ बुझाउने प्रयत्न गरेको थिएँ । तर आज, दुर्भाग्यवश म तिमीहरूको जीवनकै महत्वपूर्ण मोड कक्षा १२ को परीक्षामा सँगै हुन सकिरहेको छैन।
पछिल्ला दिनहरूमा उत्पन्न भएको शैक्षिक आन्दोलनको परिस्थिति यति कठोर बन्यो कि हामी शिक्षकहरू आफ्नै सन्तानसरह लाग्ने तिमीहरूका सामु परीक्षा कक्षमा उभिन सक्ने हैसियतमा रहेनौँ। यो केवल तिमीहरूको मात्र पीडा होइन, यो त हाम्रो पनि असह्य पीडा हो।
हिजो तिमीहरूले चुपचाप पुस्तक बोकेर सोधेका थियौ “सर, हामीले यति पढ्यौँ, अब परीक्षा दिन पाइन्छ त?” त्यो प्रश्नले मेरो हृदयलाई गहिरोसम्म चिरिरहेको छ। शिक्षक हुनुको सार नै के हो भने—विद्यार्थीको आँखामा आशाको उज्यालो देख्नु, उहाँहरूका सपनामा आफ्नो प्रतिबिम्ब भेट्नु। तर आज, ती आँखामा म केवल निराशा देखिरहेको छु , र त्यसको जिम्मेवारी हामी शिक्षकहरूको पनि बनेको छ।
प्रिय विद्यार्थीहरू,
परीक्षा रोकिएर तिमीहरूको मेहनत र समर्पण व्यर्थ जान्छ भन्ने कदापि होइन। तिमीहरूका आत्मबल, विवेक, र संघर्षको मूल्य कुनै अङ्कपत्रले मापन गर्न सक्दैन। परिस्थितिले तिमीहरूको पाइला केही क्षणको लागि थामिएको हो, भविष्य होइन।
शिक्षा केवल कक्षाकोठामा होइन, जीवनको हरेक मोडमा निरन्तर चलिरहने प्रक्रिया हो । अहिलेको यो संघर्ष तिमीहरूका लागि एउटा सशक्त पाठ बन्नेछ – धैर्य, संकल्प र सहनशीलताको पाठ।
म तिमीहरूलाई यत्ति भन्न चाहन्छु – यो अस्थायी अवरोध हो, स्थायी विफलता होइन ।
आफ्ना सपनाहरूसँगको सम्बन्ध कहिल्यै टुट्न नदिनु, हिजो पढेको पाना फेरि पल्टाउनु, फेरि तयारी गर्नु । परीक्षा फेरि हुनेछ—तर त्यसबेला तिमीहरू अझ बलिया, अझ दृढ, र अझ सक्षम भएर उभिनेछौ ।
हामी शिक्षकहरू तिमीहरूसँगै छौँ—आज, भोलि, र सधैँ।
अन्त्यमा, तिमीहरू सबैलाई उज्यालो भविष्यको शुभकामना।
जीवनमा शिक्षा, संयम र सत्यका मूल्य कहिल्यै नबिर्सनु ल ।
तिमीहरूको आफ्नै शिक्षक
अनन्तप्रसाद घिमिरे
श्री कृष्ण मा.वि., पाणिनि-५, अर्घाखाँची
[२०८२/०१/९ गते]