अर्घाखाँची । पाणिनि गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को पहिलो ३ महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ ।
गाउँपालिकाले सम्पन्न गरेका विकास कार्यक्रम, बजेट खर्च लगायतकाबारेमा जानकारी दिँदै साउन, भदौ र असोज महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो । गाउँपालिकाको वेबसाइट मार्फत सार्वजनिक गरिएको प्रगति विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नीति तथा कार्यक्रम अनुसारका अधिकांश प्राथमिकता प्राप्त काम अघि बढाइएको छ ।
पहिलो तीन महिनामा गाउँपालिकाको खर्च विवरण सन्तोषजनक रहेको छ । गाउँपालिकाले पुँजीगत तर्फ लक्ष्यभन्दा बढि खर्च गरिएको जनाएको छ । गाउँपालिकाको पहिलो तीन महिनामा चालुतर्फ १८.९८ प्रतिशत र पुँजीगत तर्फ २९.१९ प्रतिशत रहेको छ । प्रथम त्रैमासिकमा गत आर्थिक वर्षको हिसाब मिलान तथा लेखा परिक्षण सम्बन्धी कार्यको तयारी गर्नुपर्ने एवं संघिय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने निकासामा समेत ढिलाइ भएको हुँदा अपेक्षित प्रगति हुन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनालले जानकारी दिए ।
प्राविधिक, प्रशासनिक र सामाजिक क्षेत्रका योजनाहरूमा उल्लेखनीय प्रगति भएको खनालले जानकारी दिए । योजना सम्झौता सम्बन्धी कार्य सम्बन्धित वडा कार्यालय मै पुगेर गरिएको हुदा योजना सम्झौतामा पनि उल्लेख्य प्रगति देखिएको र आन्तरिक आय बढाउन आय ठेक्का सम्बन्धी कार्य समेत अगाडि बढाइएको गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख मोहन खनालले जानकारी दिए ।














