बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभालाई सम्बोधन गर्दै शेरचले यस्तो बताएका हुन् ।
शेरचनले बिद्यमान शिक्षा प्रणालीले बिद्यार्थी बर्गहरुमा नैराश्यता छाएको भन्दै प्राबिधिक शिक्षा दिईे स्वरोजगार बनाउन आवश्यक रहेको बताएका छन् । उनले भने “ काम पाईदैन, खमडी मुलुक जानुपर्छ । त्यो बाहेक अर्काे उपाय छैन, यो अवस्थाबाट मुक्त गराउन प्राबिधिक शिक्षा सबैभन्दा आवश्यक छ ।”
शिक्षण संस्थालाई राजनीतिको थलो बनाउन हुँदैन
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख शेरचनले शिक्षण संस्थामा शिक्षक र विद्यार्थीको राजनीतिक आस्था फरक फरक भए पनि राजनीतिक स्वार्थ पूरा गर्न संस्थालाई राजनीतिको थलो बनाउन नहुने बताएका हुन् । प्रमुख शेरचनले भने, ‘ आजको युग प्रतिस्पर्धाको युग भएकोले विश्व बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा सबै शिक्षण संस्थाको ध्यान जानुपर्छ । विकसित देशले चन्द्रमाबाट माटो ल्याइसके । खेती गर्ने योजना बनाइसके तर हामी भने चन्द्रमाको पूजा गरेर बसिराखेका छौं । अब उपनिवेशवादी शिक्षा नीतिलाई बदलेर प्रविधिको युगमा प्रवेश गर्नुपर्छ ।’
क्याम्पस सञ्चालक समितिको अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन शत्रमा सप्तगण्डकी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख प्रा.डा भीमराज अधिकारी, पूर्वप्रदेश मन्त्री घनश्याम दाहाल, संविधानसभा सदस्य कृष्णभक्त पोखरेल, प्रदेश सांसद ईश्वर सापकोटा, पूर्वक्याम्पस प्रमुख बालकृष्ण पौडेल, भरतपुर–१० का वडाअध्यक्ष परमेश्वर खनाललगायतले शुभकामना मन्तव्य राख्दै इतिहासको निकै कठिन दिनहरु पार गर्दै सप्तगण्डकी क्याम्पस आजको दिनमा आइपुगेको बताए ।
सोही अवसरमा सप्तगण्डकी जर्नलको पनि विमोचन गरिएको थियो । सप्तगण्डकी क्याम्पस अनुसन्धान व्यवस्थापन सेलले प्रकाशन गरेको यो जर्नलमा ११ वटा अनुसन्धानमूलक लेखहरु सङ्ग्रहित गरिएको छ । सेलका प्रमुख कपिलदेव सुवेदीले जर्नले १३ औं संस्करण भएको जानकारी गराए ।












