१. पृष्ठभूमि
नेपालको सङ्घीय संरचना अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लाहरुमध्येको एक ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले चर्चा गर्न लायक जिल्ला हो अर्घाखाँची । अर्घाखाँची जिल्लामा रहेका जम्मा ६ वटा स्थानीय तहहरुमध्येमा पाणिनी गाउँपालिकाको महत्त्व र गरिमा निकै उच्च र विशिष्ट रहेको छ । अर्घाखाँची जिल्लाको पूर्वमा पर्ने ६ स्थानीय तह मध्येको एक पाणिनि गाउँपालिका हो।अर्घाखाची जिल्ला २७°४५´देखि २८° ६´उत्तरी अक्षांश र ८०°४५ देखि ८३°२३´पूर्वी देशान्तरसम्म फैलिएको छ।यस गाउँपालिकाको पूर्वमा पाल्पा जिल्ला, पश्चिममा सन्धिखर्क र शीतगंगा नगरपालिका उत्तरमा छत्रदेव गाउपालीका र गुल्मी जिल्ला र दक्षीणमा पाल्पा जिल्ला र रुपन्देही जिल्ला यस गाउँपालिकासँग जोडिएका सिमानाहरु हुन् । पाणिनी गाउँपालिका आफैमा एक धार्मिक तथा पर्यटकीय महत्व बोकेको ऐतिहासिक स्थान हो । यसै सन्दर्भमा पाणिनिको शैक्षिक, धार्मिक, सास्कृतिक, ऐतिहासिक, आर्थिक लगायत अन्य विविध सन्दर्भहरुको संक्षिप्त्त चिनारी दिने उद्देश्यले प्रस्तुत चिनारी पत्र तयार गरेको छु ।
क) नामकरण:
पाणिनि गाउँपालिकाको नामाकरण पाणिनी ऋषिले तपस्या गरेको सन्दर्भकै आधारमा भएको मानिन्छ ।
अर्घाखाँची जिल्लाको पूर्वि भेगका अड्गुरी¸ साविक पाली गा. वि. स. को वार्ड नं १ देखी ८ सम्म र साविकको चिदिका गाविसको वार्ड नं ९ लाइ गासी सिंगो पाली¸ धातीवाङ्ग¸ मैदान¸ पटौटी¸ पणेना¸ पोखराथोक¸ खिदिम गाविसलाई समेटेर यस गाउँपालिकाको नाम पाणिनि राखिएको छ ।
२. शैक्षिक अवस्था
क) हरिहर सस्कृत तथा साधारण मा.वि.
पाणिनी २, पोखराथोकमा अवस्थित हरिहर सस्कृत तथा साधारण मा.वि. यो क्षेत्रको मात्रै नभएर देशकै शैक्षिक इतिहाससग जोडिएको एक महत्त्वपूर्ण शैक्षिक सस्था हो । वि.सं. १९९४ सालमा स्थापित हरिहर संस्कृत पाठशालाले संस्कृत शिक्षामा पु¥याएको योगदान र ऐतिहासिक महत्व स्वर्णाक्षरमा लेख्न योग्य छ । अर्घाखांँची खिदिमजस्तो विकट स्थानमा तत्कालीन समयमा उच्च गुणस्तरीय पठनपाठन एवं अत्यन्त व्यवस्थित आवासीय महाविद्यालयको रूपमा खुलेको थियो । (अतुलनीय हरिहर संस्कृत पाठशाला-गोरखापत्र – नारायण मरासिनी )
पछिल्लो केहिवर्ष तत्कालीन महेन्द्र सस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि उत्तरमध्यमा र शास्त्री तहसम्मको अध्ययन अध्यापन पनि सन्चालन भएको थियो यद्यपि विद्यार्थीहरुको सस्कृत विषयप्रतिको चासो कम हुँदै जानू, सस्कृत भाषा, साहित्य अनि दर्शनको महत्त्वका विषयमा जनचेतना फैलाउन नसक्नु लगायतका विविध कारणहरुबाट त्यसले निरन्तरता पाउन भने नसकेको अवस्था छ। सस्कृतजस्तो हाम्रो गौरबको विषयलाई पुनःस्थापित गरि अध्ययन अध्यापनको वातावरण मिलाउने सन्दर्भमा सम्बन्धित पक्षको ध्यान जानू आवश्यक देखिन्छ । समयक्रमसगै हाल यस शिक्षालयमा कक्षा १२ सम्मको विद्यालयीय शिक्षा साथै हरिहर क्यम्पसका नाममा स्नातक तहसम्मको अध्ययन अध्यापन गर्ने कार्य पनि सन्चालित छ त्यस्तै कक्षा ९-१२ मा प्राविधिक विषयको पनि पढाई हुने गरेको छ ।
यसरी हेर्दा यो शिक्षालय पाणिनिकै परिचय दिने एक शैक्षिक धरोहरका रुपमा रहेको देखिन्छ ।
त्यसैगरी पाणिनिमा कक्षा १० सम्म अध्ययन अध्यापन हुने जम्मा विद्यालय १६ वटा रहेका छन् , त्यस्तै कक्षा ११-१२ सम्म संचालित विद्यालयहरु जम्मा ८ वटा, प्राविधिक विद्यालयहरु जम्मा २ वटा र प्राविधिक तथा व्यवसायिक तालिम परिषद्बारा संचालित डिप्लोमा तहको अध्ययन अध्यापन हुने १ वटा शिक्षालय रहेका छन् ।
पछिल्ला केहि वर्षयता भने बसाइ सराइ गरि गाउँबाट सहर जाने क्रम बढिरहेकाले विद्यालयहरुमा विद्यार्थीहरुको संख्या घट्दै गइरहेको देखिन्छ । यसलाई रोक्नका लागि सरोकारवाला निकायहरुले ठोस कार्ययोजना ल्याउनु अत्यन्तै आवश्यक देखिन्छ ।
३.) धर्म/सस्कृति/ पर्यटन
पाणिनी गाउँपालिका भित्र अधिकांश हिन्दु धर्मावलम्बीहरुको बसोबास रहेको छ भने केही मुस्लिम धर्मावलम्बीहरु पनि रहेका छन् । मुस्लिम धर्मावलम्बीहरु विशेषगरी पाणिनिको वार्ड नं. ८, पालीमा रहेका छन् । यसबाहेक अन्य धर्मावलम्बीहरु छिट्फुट रुपमा मात्रै रहेको बुझिन्छ । धार्मिक सहिष्णुता यस गाउँपालिकाको मुख्य विशेषता नै हो । एक सम्प्रदायले अर्को सम्प्रदायलाई बन्धुत्त्वको हिसाबले हेर्ने हुँदा धार्मिक मतभेदले यस ठाउँमा स्थान पाएको छैन ।
यस क्षेत्रमा विभिन्न सस्कृतिहरु परम्परागत रुपमा मनाउदै आइएको पाइन्छ । विविध सस्कृतिहरु मध्येमा मुख्यगरि दशैको सराय नाच, तिहारको देउसी भैलो, तीजका परम्परागत गीतहरु, धार्मिक भजन, गाइजात्रा, लाखे नाच, मुस्लिमहरुको इद पर्व आदि पर्दछन् ।
४.) धार्मिक तथा ऐतिहासिक सम्पदाहरु
पाणिनि गाउँपालिका विशेषगरी धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको धनी ठाउँ हो । यहाँ सस्कृत व्याकरणका शिखर पुरुष, महान तपस्वी पाणिनि ऋषिले तपस्या गरेको ठाउँदेखि पौराणिक कालखण्डका धार्मिक आस्थाका केन्द्र पौराणिक ग्रन्थहरुमा समेत उल्लेख गरिएका दुर्वाशा ऋषिको आश्रम समेत रहेको छ । यसबाहेक अन्य धार्मिक तथा पर्यटकीय स्थलहरुले पनि पाणिनि गाउँपालिकाको भव्यतामा अझ दिव्यता थप्ने काम गरेका छन् ।
क) पाणिनि तपोभूमि
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका अन्तर्गत वार्ड नं. १ पणेनामा अवस्थित पाणिनी तपोभूमि धार्मिक तथा भाषिक दृष्टिकोणले समेत निकै महत्त्वपूर्ण रहेको छ । सस्कृत व्याकरणका रचयिता पाणिनी ऋषिले यसै ठाउँमा आइ तपस्या गरि १४ वटा माहेश्वर सूत्रको रचना गरि व्याकरणका क्षेत्रमा ऐतिहासिक कार्य गरेको विभिन्न ग्रन्थहरुमा उल्लेख समेत छ । प्राकृतिक हिसाबले निकै मनोरम देखिने, चिसो हावापानी रहेको उत्तरका हिम श्रृङखलाहरुदेखि तराई लगायत भारतका विभिन्न ठाउँहरुसमेत एकै ठाउँबाट दृश्यावलोकन गरि आनन्दानुभूती गर्न सकिने यो महत्त्वपूर्ण क्षेत्रको प्रचारप्रसार गर्न सकेमा पाणिनि क्षेत्र धार्मिक पर्यटनका हिसाबले विश्वमै अद्वितीय र घुम्नैपर्ने, पुग्नैपर्ने ठाउँका रुपमा विकास हुने पक्का छ ।
ख) दुर्वाशेश्वर गुफा
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका अन्तर्गत वार्ड नं. ३ खिदिममा अवस्थित दुर्वाशेश्वर गुफाको धार्मिक तथा ऐतिहासिक महत्त्व रहेको छ । यस ठाउँमा दुर्वाशा ऋषिले तपस्या गरेको हुनाले दुर्वाशेश्वर आश्रमका नामले चिनिन्छ । अग्लो पहराको काखमा अवस्थित दुर्वाशा आश्रममा निकै रहस्य बोकेको रोचक गुफासमेत रहेको छ । जुन गुफामा सातवटा तलाहरु रहेको हुनाले साततले गुफाका नामले पनि यस स्थललाइ चिनिन्छ। गुफाभित्र निकै कलात्मक शिबजीको ज्योतिर्लिङ्ग मात्रै होइन विभिन्न पौराणिक कलाहरुसमेत दृश्यावलोकन गर्न सकिन्छ । उक्त गुफादेखि केही दक्षिणतर्फ तिनवटा नदीहरुको सङ्गम त्रिवेणी पनि रहेको छ । उक्त त्रिवेणीमा दुर्वाशा ऋषिले स्नान गरि त्यहि गुफामा आइ तपस्या गर्ने गरेको भनाइ रहेको छ । दुर्वाशेश्वर गुफामा केहिवर्ष पहिलेसम्म प्रत्येक वर्ष कोटीहवन, पुराण वाचन लगायत विभिन्न धार्मिक अनुष्ठानहरु हुँदै आएको भएपनि पछिल्ला वर्षहरुमा त्यस्ता धार्मिक गतिविधिहरु सन्चालन हुन सकेको देखिदैन । शिवरात्री, जनैपूणिर्मा, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमीजस्ता पर्वहरुमा भक्तजनहरुको घुइचो भने लाग्ने गर्दछ । स्थानीय तह, त्यस वरपरका भक्तजनहरुको सक्रियतामा प्रचारप्रसारको कार्यलाई सशक्त ढङले लैजाने हो भने धार्मिक पर्यटकीय हिसाबले यो ठाउँ विशेष बन्ने निश्चित छ ।
यीबाहेक पाणिनिको मैदानमा रहेको मनोकामना मन्दिर, आलमदेवी मन्दिर, कालीकाठी पहाड, खिदिमको मालिका मन्दिर, पाणिनि ६, धातिवाङ्गमा रहेको सिद्धेश्वर गुफा, सिद्देश्वर कालिका मन्दिर जस्ता धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण स्थानहरु पाणिनिका चिनारी हुन् । पाणिनि तपोभुमीदेखि कालिकाठी हुँदै नरपानीसम्मको पदमार्गले पनि पाणिनिको चौतर्फी विकासमा निकै ठूलो टेवा पुर्याउन सक्ने देखिन्छ । यस्ता ऐतिहासिक र धार्मिक-पौराणिक स्थलहरुको प्रचारप्रसार सहि ढङ्गले गर्न सकेमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाइ यस ठाउँमा भित्र्याउन सकिन्छ; जसबाट पाणिनिका जनताहरु आर्थिक रुपले लाभान्वित हुने प्रशस्त आधारहरु देखिन्छन् साथै काम, दाम र मामको खोजीमा बसाइँसराइ गर्ने अवस्थाको अन्त्य होला कि ?
५.) कृषि /पशुपालन
पाणिनि कृषिका दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण रहेको छ । यहाँका परम्परागत कृषि खाद्य बालीहरुमा मकै, धान, गहु, जौ आदि पर्दछन भने फलफूल, तरकारीको उत्पादनमा पनि यहाँका किसानहरु क्रमशः आकर्षित बन्दै गएका छन् । परम्परागत रुपमा खेती गर्दै आइरहेका यहाँका किसाननहरुले पछिल्ल्ला सममयमा आधुनिक शैली अपनाउन थालेपछि उत्पादनमा अपेक्षित वृद्धि र त्यसबाट आर्थिक उपार्जन पनि गर्न थालेको कृषकहरुले बताउछन् यद्यपि तमाम युवाहरुलाइ बिदेश जानुपर्ने वाध्यात्मक परिस्थितिको अन्त्यका लागि विशेषगरी यहाँको स्थानीय तहले प्रभावकारी भूमिका खेल्नुपर्ने अवस्था छ ।
सुन्तलाको पकेट क्षेत्रका रुपमा पाणिनिलाइ चिन्निछ । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं १, पणेना सिम्ले गाउँका किसानहरूले सुन्तला खेतीबाट मनग्ये आम्दानी गरेका छन् । सिम्लेको ४९ घर परिवार व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । उनीहरुले सुन्तला बेचेर वार्षिक रु तीन लाखदेखि रु २८ लाखसम्म आम्दानी गर्ने गर्छन् ।
पाणिनीका विभिन्न वडामा आलु पकेट कार्यक्रम पनि सञ्चालन भएको छ । पाणिनीको धातिवाङ्ग आलु, लसुन खेतीका लागी उपयुक्त ठाउँ हो ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले वार्षिक निती तथा कार्यक्रममा कृषि क्षेत्रलाई हरेक वर्ष प्राथमिकतामा राखेको छ । कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकिकरण र व्यवसायीकरण गर्दै कृषि व्यवसाय प्रबद्र्धनको माध्यमबाट रोजगारी सिर्जनामा जोड दिने लक्ष्य पाणिनी गाउँपालिकाले राखेको छ । त्यसैगरी पशुपालन व्यवसायलाई पनि व्यवस्थित गर्दै दूध उत्पादनका आधारमा दिने अनुदानलाई निरन्तरता दिने, मासु तथा अण्डा उत्पादनको आधारमा प्रोत्साहन अनुदान दिने व्यवस्था समेत पाणिनिको अर्को सकारात्मक पाटो हो ।
पशुपन्छीहरुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सञ्चालन भएको नश्ल सुधारको कार्यक्रमलाई निरन्तरता दिने, लद्यु उद्यम मार्फत रोजगार सिर्जना गर्ने, सहकारी मार्फत उद्यमशिलता विकासका लागी युवाहरुलाई सहकारीमा आवद्ध गराई रोजगारमुलक उद्यमशिलता तालिम दिने जस्ता कार्यक्रमलाई साच्चिकै कार्यन्वयन गर्न सकेमा पाणिनिको विकासमा कोसेढुङ्गा सावित हुनेछ ।
माटो, हावापानी, भूगोल आदिको अध्ययन अनुसन्धान गरि त्यस अनुकूलको खेतीपातीमा किसानहरुलाइ आकर्षित बनाउने कुराको भने कमी देखिन्छ । वास्तविक किसानहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनु आवश्यक छ ।
६.) स्वास्थ
पाणिनि गाउँपालिका भित्रको स्वास्थ्यको अवस्था सुधारोन्मुख किसिमको रहेको छ । पाणिनिका प्रत्येक वार्डमा १/१ वटा स्वास्थ्य चौकीहरु सन्चालित छन् ।
-भौगोलिक विकटतालाइ ख्याल गर्दै जनतालाइ सहज सेवा दिने उद्देश्यले पाणिनिका विभिन्न ठाउँमा थप ५ वटा सामुदायिक स्वास्थ्य इकाइ समेत सन्चालनमा रहेका छन् ; जसअनुसार पाणिनि-५ को भर्तापुर, पाणिनि-४ को कुँडापानी, पाणिनि-२ को कमैघारी, पाणिनि-७ को झन्द्रेक र पाणिनि-३ को हराबोट ।
– पाणिनिका ३ वटा स्थानमा २४ घण्टे प्रसुती सेवा उपलब्ध रहेको छ; जसअनुसार पाणिनी २ को पोखराथोक, पाणिनि ३ को हराबोट र पाणिनि ८ को पाली ।
– सङ्घीय सरकारको लागतमा पाणिनी -५ को दुर्गाटोलमा १५ शैय्याको आधारभुत अस्पताल निर्माणाधीन अवस्थामा रहेको छ, जसबाट पाणिनिका जनताहरु लाभान्वित हुने ।
– पाणिनि गाउँपालिकाभित्र अहिलेसम्म सेवा सुबिधा सम्पन्न अस्पताल नभएको हुँदा यहाँबाट बिरामीहरूलाई उपचारका लागि जिल्ला सदरमुकाम लगायत अन्य जिल्लासम्म पुर्याउनु पर्ने वाध्यता रहिआएको छ । समयमै बिरामीहरुलाइ उपचारका लागि अस्पतालसम्म पुर्याउने उद्देश्यले २ वटा एम्बुलेन्स समेत प्रयोगमा आएका छन् ।
यति हुँदाहुँदै पनि स्वास्थ्यजस्तो गम्भीर विषयमा छिटोछरितो सेवा प्राप्त हुन नसकिरहेको गुनासो सर्वत्र व्याप्त छ । कुनै स्वास्थ्य समस्या आइपरेमा पाल्पा, बुटवल दौडिनु पर्ने वाध्यता यथावत् रहेको विरामीहरुले बताउँछन् । यस विषयमा स्थानीय तह गम्भीर बन्न नसकेमा स्वास्थ्य सेवाको अभावमा गाउँबाट सहरमा बसाइँसराइ गर्ने क्रमले विश्राम नलिने देखिन्छ ।
७.) निष्कर्ष :
कुनै पनि ठाउँको विकास एवं समृद्धिको मापनका लागि मुलतः त्यस ठाउँको शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषयहरुको अवस्थासग नागरिकको सहज जीवनयापनलाई जोडेर हेर्ने गरिन्छ । पाणिनिका सन्दर्भमा यी विषयहरूको अवस्था मध्यम प्रकृतिको नै रहेको देखिन्छ । विशेषगरी यस ठाउँमा कृषि तथा पर्यटन व्यवसायलाई व्यवस्थित गर्दै सामान्य नागरिकको जीवनस्तरमा सुधार ल्याउन सकेमा रित्तिंदै गएको गाउँघरलाई पुनः भरिलो बनाउन सक्ने सम्भावनालाई नकार्न सकिदैन ।












