अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बिष्णुप्रसाद खनाल ‘मुस्कान’ ले आफू जिल्लावासी सबैको साझा उम्मेदवार भएको दाबी गरेका छन्।
जिल्लाको विकास र जनताको समस्या समाधानका क्रममा कुनै पनि किसिमको राजनीतिक पक्षपात नगरी काम गर्दै आएको उल्लेख गर्दै उनले यस्तो जिकिर गरेका हुन्। पार्टी, गुट वा विचारभन्दा माथि उठेर जनताको आवश्यकता र हितलाई केन्द्रमा राखेर अघि बढेको उनको भनाइ छ।
“म कुनै एक पार्टीका कार्यकर्ताको मात्र उम्मेदवार होइन, अर्घाखाँचीका किसान, मजदुर, युवा, महिला र ज्येष्ठ नागरिक सबैको साझा उम्मेदवार हुँ,” उनले भने, “जहाँ समस्या छ, त्यहीँ पुगेर समाधान खोज्नु मेरो प्राथमिकता हो।”
खनालले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि र रोजगारीलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताए। विशेष गरी युवालाई जिल्लामै रोजगारी सिर्जना गर्ने, कृषकलाई उत्पादनसँग बजार जोड्ने र गाउँ–गाउँसम्म आधारभूत सेवा पुर्याउने योजना रहेको उनको भनाइ छ।
उनले जनताको विश्वास र समर्थन नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आगामी फागुन २१ मा हुने निर्वाचनमा जिल्लावासीको साथ पाउनेमा आफू विश्वस्त रहेको बताए।
“राजनीति पदका लागि होइन, परिवर्तनका लागि हो,” उनले भने, “अर्घाखाँचीलाई विकास, सुशासन र समृद्धिको नयाँ दिशातर्फ लैजान सबैसँग सहकार्य गर्दै अघि बढ्नेछु।”












