खेतीपातीमा चराको साथ

रासायनिक विषादी हालिएका खेतका कृषि उपज र किरा खाँदा चराको श्वासप्रश्वासमा समस्या आउने, स्नायु प्रणालीमा असर पर्ने, तौल घट्ने र प्रजनन नहुने हुने गर्छ । 

सन् १९५८ मा माओ त्सेतुङले चीनमा ‘भँगेरा सखाप’ अभियानको घोषणा गरे । अन्नबाली नोक्सान गरेको ठानेर चालिएको यो अभियानमा ६० करोडभन्दा बढी भँगेरा मारिएको बताइन्छ । बिडम्वना भँगेरा सखाप पारेपछि त्यहाँको कृषि उत्पादन झन् घट्यो । भँगेराले अन्न मात्र खाँदैनथे, किराफट्याङ्ग्रा पनि खान्थेँ ।

भँगेरा नहुँदा सलह र अन्य हानिकारक किराको संख्या ह्वात्तै बढ्यो फलस्वरूप अन्न कम भयो, भोकमरी झन् बढ्यो र यसैका कारण डेढ करोडभन्दा बढी मानिसले ज्यान गुमाएको चिनियाँ सरकारको तथ्यांक छ । सन् १९६० मा माओले यो अभियान फिर्ता लिए र कृषि उत्पादन दिगो राख्न भँगेराको पनि आवश्यकता महसुस गरी जोगाउन अपिल गरे । तर, चीनमा भँगेरा लगभग लोप भइसकेको थियो । यो अभियानबाट एउटा प्रजाति लोपोन्मुख मात्र भएन, सन्तुलित पर्यावरण नै खलबलियो, लाखौं मानिस भोकले मर्नुपर्‍यो, चरा मार्ने र खाने प्रचलन पनि व्यापक भयो ।

स्न १९३२ मा अस्ट्रेलियाको सैनिकलाई ‘इमु चरा’ मार्न निर्देशन दिइयो । किसानको खेती जोगाउन भन्दै हजारौं ‘इमु’ मारियो । तर मान्छेले आक्रमण गरेकोमा रिसाएका इमुले किसानको झन् धेरै अन्नबाली नोक्सान मात्र गरेनन्, सन्तान उत्पादन क्षमतासमेत बढाए । पछि अस्ट्रेलिया सरकारले ‘इमु’ मार्ने निर्णय फिर्ता लियो, सेनाको हार भयो । त्यस्तै औद्योगिक कृषि मलको अविष्कार भइनसकेको अठारौं शताब्दीमा चराको दिसा सबैभन्दा उत्तम मल मानिन्थ्यो र व्यापक प्रयोग गरिन्थ्यो । खासगरी समुद्री तटमा लाखौंको संख्यामा रहने चराको बिष्टा (गुवानो) को स्वामित्वका लागि देशहरूबीच लडाइँ नै भयो । सन् १८६४ मा पेरुभिएन टापुमा थुप्रिएको गुवानोका लागि स्पेनको पेरु, इक्वेडर र बोलेभियासँग युद्ध भएको इतिहास छ ।

यस्ता दृष्टान्तबाट चरा र कृषि पर्यावरण परिपूरक हुन भन्ने थाहा हुन्छ । चरा मात्र होइन माहुरी, पुतली, माकुराजस्ता किरादेखि चरनमा रमाउने ठूला जनावरसम्म कृषि प्रणालीका सारथि हुन् । तर पछिल्लो समय कृषिको व्यापक आधुनिकीकरण र व्यवसायीकरणसँगै यसका परम्परागत प्राकृतिक प्रणालीहरू खलबलिँदै छन् । विश्वको करिब ३८ प्रतिशत जमिनमा खेती गरिन्छ, मान्छेले छिटोभन्दा छिटो ठूलो परिणाममा उत्पादन गर्नेतिर मात्र ध्यान दिँदा कृषि पर्यावरणले आफ्नो प्राकृतिक स्वरूप, गुणस्तर र दिगोपन भने गुमाउँदै गएको छ ।

बर्डलाइफ इन्टरनेसनलका अनुसार विश्वमा चरा लोप हुँदै जानुको एउटा प्रमुख कारण आधुनिक कृषि प्रणालीको तीव्र विकास हो । विश्वमा पाइने ११ हजारभन्दा बढी प्रजातिका चरामध्ये करिब १५ सय प्रजाति लोपोन्मुख अवस्थामा छन्, जसमध्ये ७४ प्रतिशत प्रजाति बदलिँदो खेती प्रणालीको प्रत्यक्ष मारमा परेका छन् । कृषि क्षेत्रको विस्तारका कारण प्राकृतिक वातावरण नासिँदा चराको बासस्थान पनि हराएको छ । चिया, कफी, उखुजस्ता एकै जातका बालीनालीको खेती गरिँदा धेरै चरालाई सुहाउँदो आहार र उपयुक्त बासस्थान उपलब्ध हुँदैनन् । रासायनिक विषादीको व्यापक प्रयोग भएका खेतका कृषि उपज र किरा खाँदा चराको श्वासप्रश्वासमा समस्या आउने, स्नायु प्रणालीमा असर पर्ने, तौल घट्ने र प्रजनन नहुने विभिन्न अध्ययनले देखाएका छन् । संयुक्त राज्य अमेरिकामा मात्र हरेक वर्ष ६ करोड ७० लाख चरा रासायनिक विषादीको प्रयोगका कारण मर्ने र करिब ६० करोड चरा प्रभावित हुने वैज्ञानिकहरू बताउँछन् । डीडीटीजस्तो विषादीका कारण शाही बाज र अन्य सिकारी चराहरूको अन्डाको बोक्रा पातलो भएर प्रजनन असफल हुनु अहिले ठूलो चुनौती बनिरहेको छ । बसाइँसराइ गर्ने चराहरू विषादीका कारण तौल कम भई कमजोर हुँदा गन्तव्यसम्म उडान भर्न र स्नायु प्रणालीमा असर पर्ने हुँदा गन्तव्यसम्म पुग्ने बाटो पहिचान गर्न पनि सक्दैनन् ।

कृषिको तीव्र व्यावसायीकरणसँगै चराहरू घट्दै गएका छन् । संयुक्त राज्य अमेरिका र क्यानडामा सन् १९६६ देखि २०१३ सम्मको अध्ययनमा कृषि क्षेत्रमा बस्ने चराको संख्या ७४ प्रतिशतले घटेको छ । युरोपमा पनि सन् १९८० को दशकदेखि खेतबारीमा पाइने चराको संख्या ५७ प्रतिशतले कम भएको छ । युरोप र एसियाका खेतबारी र सँगैको सिमसार क्षेत्रमा बस्ने भँगेरा आकारको बगालेबगेडीको संख्या पनि स्न १९८० देखि २०१३ सम्म ९० प्रतिशतभन्दा बढीले घटेको छ । युरोपका खेतबारीमा पाइने तामे ढुकुर प्रजातिको संख्या गत १५ वर्षमा ४९ प्रतिशतले कम भयो ।

नेपालमा पाइने ८ सय ९० प्रजाति चरामध्ये करिब २१ प्रतिशत कृषि क्षेत्रमा बस्छन् र त्यसमा पनि विश्वमै दुर्लभ चराका ४३ प्रजातिमध्ये करिब आधा प्रजाति कृषि क्षेत्रमा निर्भर छन् । कान्लामा गुँड बनाउने संसारको सबैभन्दा अग्लो चरा सारस हुन् वा खेतहरू बीचका अग्ला रूखमा गुँड बनाउने गरुड, गिद्ध वा जाडोयाममा मंगोलियाबाट हाम्रो खेतबारीमा आउने पाहुना बगालेबगेडी, यी सबै लोपोन्मुख छन् ।

नेपालको कृषि क्षेत्रमा निर्भर चराको अवस्था र तिनले भोगिरहेका चुनौतीका विषयमा विद्यावारिधि गर्नुभएका हेमबहादुर कटुवालको हालैको अनुसन्धानमा सुनसरी, सर्लाही, चितवन तथा कपिलवस्तुका कृषि क्षेत्रमा २०१ प्रजातिका चरा पाइने र तीमध्ये ९ प्रजाति विश्वमै दुर्लभ रहेको अनि २६ प्रजाति राष्ट्रिय रूपमा संकटापन्न अवस्थामा रहेको तथ्य पाइन्छ । रोचक त, वन र नदीको बहाव क्षेत्रमा भन्दा कृषि क्षेत्रमा चराको प्रजाति र संख्या बढी देखिएको छ । यो अध्ययनमा तराईमा विभिन्न बालीको मिश्रित तथा बीचबीचमा रूखहरू भएका खेतमा चराहरूको विविधता र संख्या बढी पाइएको छ । बहुवर्षीय बालीले भन्दा मौसमअनुसार लगाइने फरक–फरक खेतीले धेरै चरालाई आकर्षित गर्ने देखिएको छ । अध्ययनमा उखु खेती पनि गरिएका क्षेत्रमा प्रजाति बढी पाइने र धान खेतमा संख्यात्मक हिसाबले धेरै चरा पाइने उल्लेख छ । कटुवालकै अर्को अध्ययनमा तराईका ७ सय ४३ किसानमध्ये ६३ प्रतिशतले चरालाई मन पराएको र चराले उनीहरूलाई कुनै न कुनै रूपमा फाइदा पुर्‍याएको बताएका छन् ।

यसले के देखाउँछ भने, हाम्रो मिश्रित बालीको खेती गर्ने, मौसमअनुसारका फरक–फरक बाली लगाउने, खेतका बीचमा रूखहरू पनि जोगाउने परम्परागत खेती प्रणाली अत्यन्तै पर्यावरणमैत्री, सन्तुलित र दिगो छ । तर कटुवालको अध्ययनले यसको बदलिँदो र बिग्रँदो पाटो पनि उजागर गरेको छ । पछिल्ला दिनहरूमा खेतीयोग्य जमिनमा जथाभावी र मनोमानी तवरले घर, बाटो बनिरहेका छन्, बिजुलीका तारहरू राखिएका छन् । अध्ययनबिना इँटा उद्योग सञ्चालन र अनियन्त्रित ढुंगा, माटोको उत्खननले कृषि पर्यावरण नै खलबलिएको छ । चराहरूको चोरीसिकार पनि बढेको छ । मात्रा र सावधानीसम्बन्धी कुनै जानाकारीबिना विषादीको प्रयोग व्यापक बन्दै गएको छ । कृत्रिम वातावरण सिर्जना गरेर ठूलो परिणाममा उत्पादन गर्न अनेक हतकण्डा अपनाउने प्रवृत्ति मौलाएको छ । यसले चरा र किसानबीच द्वन्द्व पनि बढाएको छ । राज्यले पनि खेतीयोग्य जमिनको पहिचान गरी गुणस्तरीय र दिगो कृषि उत्पादनको प्रवर्द्धनमा खासै चासो दिएको छैन । स्थानीय सरकारले यो पाटोलाई बेवास्ता गरिरहेका छन् । उनीहरूको ध्यान अनुदान वितरण र राहात उपलब्ध गराउनेमा मात्र छ, जुन दिगो समाधानको बाटो हुँदै होइन ।

स्वाभाविक रूपमा खाद्यान्नको बढ्दो मागलाई पूर्ति गर्न उत्पादनलाई बढाउनुपर्ने बाध्यता छ तर यसको मतलब गुणस्तरीय, दिगो र पर्यावरणमैत्री उत्पादन र यसका प्राकृतिक प्रणालीहरूलाई बिर्सनु हुँदैन । कृषिमा आधुनिकीकरण भनेको बढी उत्पादन गर्नु मात्र होइन, त्यसको गुणस्तर कायम राख्नु र दिगो बनाउनु पनि हो । तर हाम्रोमा माटो र वातावरणको ख्यालै नगरी रासायनिक मल र विषादिको जथाभावी प्रयोग गरिन्छ । यसले माटोको उर्वराशक्ति घटाउनुका साथै उत्पादित चिजले नै विषको काम गर्ने खतरा रहन्छ । त्यस्तै यहाँको हावापानीमा अनुकूलित भएका स्थानीय जातका बालीहरू विस्तारै विस्थापित भइरहेका छन्, योसँगै पौष्टिकता मात्र हराएका छैनन्, बीउ, औजार र प्रविधिमा समेत परनिर्भरता बढ्दै छ । गहिरिँदो खाद्य संकट समाधान गर्दै भविष्यमा खाद्य सुरक्षाको सुनिश्चितताका लागि मात्रात्मक उत्पादन बढाउने मात्र होइन दिगो, गुणस्तरीय र पर्यावरणमैत्री कृषि उत्पादन, त्यसको बजारीकरण र जिम्मेवार उपभोगमा पनि जोड दिनुपर्छ । यसका लागि प्रांगारिक उत्पादन र ‘इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट’ जस्ता विधि अपनाउनुका साथै परम्परागत ज्ञान र सीपलाई समयानुल परिष्कृत र प्रभावकारी बनाउँदै लैजानुपर्छ । यस्ता विधिमा चरा, माहुरी, पुतली तथा गड्यौलाले महत्त्वपूर्ण सहयोग गर्छन् ।

विश्व प्रांगारिक कृषितिर ढल्कँदै छ, १८७ देशको ७ करोड २३ लाख हेक्टर जमिनमा ३१ लाख किसानले प्रांगारिक कृषिलाई अपनाएको बताइन्छ । कयौं बाली र फलफूलको बीउ वितरण र परागसेचनमा चराको महत्त्वपूर्ण भूमिका हुन्छ । कतिपय बीउ त चराले खाएर बिष्टाएपछि मात्र उम्रन सक्छन् । किसानको साथी भनिने गोठे लाटोकोसेरोको जोडीले एक प्रजनन अवधिमा करिब ३ हजार मुसा खाने कतिपय अध्ययनले देखाएका छन् । यसबाट चराले किसानलाई पुर्‍याउने सहयोगको सहजै अनुमान गर्न सकिन्छ । त्यसैले कृषि र चराको अन्तरसम्बन्धलाई खलबलिन दिनु हुन्न ।

भुसाल पन्छीविज्ञ हुन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?