ललितपुर । एमाले निकट पत्रकारहरुकाे संगठन प्रेस चौतारी नेपालको पहिलो स्थानीय समितिका रुपमा गोदावरी नगर समिति गठन भएको छ।
सोमबार चापागाउँमा प्रेस चौतारी ललितपुरद्वारा आयोजित एक कार्यक्रममा नगर समितिको संयोजकमा सुरेश तामाङ र सचिवमा लक्ष्मण महर्जनलाई जिम्मेवारी दिइएको हाे।
समितिलाई छिटै नै पूर्णता दिइने प्रेस चौतारी ललितपुरका अध्यक्ष बालमुकुन्द आचार्यले बताए।
प्रेस चौतारीले पहिलो पटक स्थानीय तहमा कमिटी गठन गरेकाे हो। यसअघि केन्द्र, प्रदेश र जिल्लामा मात्रै संरचना थिए। हालै सम्पन्न चौतारीको नवौँ महाधिवेशनबाट पारित विधानअनुसार हरेक पालिकामा समिति गठन गरिने निर्णय भएकाे हाे।
‘हामीले यही विधानलाई टेकेर देशमै पहिलो चौतारीको स्थानीय समिति निर्माण गरेका छौँ, इतिहास रचेको छाैँ’, अध्यक्ष आचार्यले भने।
कार्यक्रममा बोल्दै प्रेस चौतारीका केन्द्रीय महासचिव हिरामान लामाले पत्रकारितासँगै पार्टी प्रचारको जिम्मेवारी पनि प्रेस चाैतारीसँग रहेकाे बताए। ‘पत्रकारलाई पार्टीले चुनाव आएपछि मात्र सम्झने बानी त्यागेर अरूबेला पनि सम्झने र विभिन्न कृयाकलापमा सहभागी गराइरहनुपर्ने आवश्यकता देखिन्छ’, उनले भने।












