काठमाडौं ।
अनुसन्धान व्यवस्थापन एकाइ, वाल्मीकि विद्यापीठ काठमाडौंले ´वेदमा नारीको स्थान ` विषयक अन्तर्क्रियात्मक गोष्ठी आज सम्पन्न गर्यो । डा. शान्तिकृष्ण अधिकारीज्यूको सभापतित्व , नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेज्यूको प्रमुख आतिथ्य, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. भागवत ढकालज्यूको विशेष आतिथ्य र विद्यापीठका सहप्राचार्यहरू, पूर्वप्राचार्यहरू, विश्वविद्यालय सभाका सभासद्, विद्यापीठका विभागाध्यक्ष , विभागीय प्राध्यापकवृन्द, शिष्यगणलगायत विविध क्षेत्रका विशिष्ट विद्वान्-विदुषी महानुभावको सहभागितामा गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तोता प्रा.डा. आमोदवर्धन कौडिन्न्यायनले वेदमा नारीको उच्चस्थान रहेको बताएका थिए । उनले अनुसन्धानमूलक कार्यपत्र प्रस्तुति दिने क्रममा वेदमा गार्गी , मैत्रेयीजस्ता थुप्रै ब्रह्मचिन्तन तथा शास्त्रार्थ गर्ने ब्रह्मवादिनी देखिन्छन्, नारीलाई मन्त्रद्रष्ट्री ऋषिकाका रूपमा वर्णन गरिएका प्रसङ्ग प्राप्त हुन्छन् , वेदवेदाङ्ग पढ्ने-पढाउने उपाध्याय-उपाध्यायीको उल्लेख भेटिन्छ , वेदमा नारीको विधिसम्मत उपनयन संस्कार (व्रतबन्ध) को विधान पाइन्छ, वेदमा ´मातृदेवो भव` भनिएपछि मात्र ´पितृदेवो भव` भनिएकाले नारीलाई अग्रस्थान तथा विशेष सम्मान दिइएको पाइन्छ , त्यसैगरी माता, गृहिणी, पत्नी, जाया , धर्मपत्नी, अर्धाङ्गिनीजस्ता शव्दहरूको व्युत्पत्तिबाट प्राप्त हुने अर्थले पनि नारीलाई वैदिकवाङ्मयले उच्चस्थान दिएको देखिन्छ भन्दै विधर्मीले लगाएका आरोप सुनेर तथा पाश्चात्यहरूले गरेका व्याख्या-अनुवाद पढेर दोषरहित अपौरुषेय वेदमाथि लाञ्छना लगाउन नहुने बताएका थिए। आफैँले विधिपूर्वक वेदवेदाङ्ग अध्ययन अनुसन्धान गरी नेपाली समाजका स्त्री-पुरुष सबैले सौहार्दका साथ सम्मानपूर्ण जीवन यापन गर्न सबैलाई अनुरोध समेत गरे । त्यसैगरी वेदमा कहीँकतै नभएको सतीप्रथा वेदमा नै उल्लेख थियो भन्ने मिथ्या प्रचार गरिएकोप्रति खेद प्रकट गर्दै नारीलाई सक्षम र सबल बनाउन शास्त्रीय ज्ञान तथा कलाकौशल आदि व्यावहारिक सिप सिकाउने प्रचलन, अविवाहिता नारी तथा पितामाताको सेवारत अनुशासिता नारीलाई सम्पत्ति/अंश दिनु पर्ने जस्ता वैदिक अवधारणा आजका लागि समेत उपयोगी, महत्त्वपूर्ण र मार्गदर्शक हुने भएकाले अध्ययन अनुसन्धान गरी अनुसन्धाताले प्रकाशमा ल्याउनु पर्ने आवश्यकता कार्यक्रममा बोल्ने वक्ताहरूले राखेका थिए
।
कार्यपत्र प्रस्तुतिपश्चात् टिप्पणीकर्ताहरू प्रा.डा. नारायणप्रसाद गौतम , प्रा.डा. आनन्दप्रसाद घिमिरे , सहप्रा. डा. नारायणप्रसाद बरालले कार्यपत्रको प्रशंसासहित सुधारात्मक टिप्पणी प्रस्तुत गरेका थिए । टिप्पणीका क्रममा प्रा.डा. गौतमले वेद, स्मृति, पुराण आदिमा अनुशासित नारीको महत्ता गाइएको चर्चा गरे । प्रा.डा. घिमिरेले ज्ञानको राशिका रूपमा रहेको वेदमा रहेका ज्ञानलाई यसैगरी अनुसन्धान गरी समाजसामु पस्कदै जानुपर्ने आवश्यकता रहेकोे बताए त्यस्तै डा.बरालले वेदमा प्रौढ भएपछि मात्र विवाह गर्नु पर्ने विधान भएकाले बालविवाह वेदनिषिद्ध रहेको जिकिर गरेका थिए । त्यसैगरी सहभागीहरूले समेत कार्यपत्रमाथि जिज्ञासा राख्ने र प्रस्तोताले प्रष्टीकरण दिने काम समेत भएको थियो ।
कार्यक्रममा विशेष अतिथि डा. विमला शर्माले वेद तथा वैदिक वाङ्मयमा नारीलाई महत्त्वपूर्ण स्थान तथा मान सम्मान दिएको भएपनि नेपाली समाजमा आजपनि नारीलाई अपहेलना गरिन्छ भन्दै अब नारीपुरुषसम्बन्धी समानताको अवधारणालाई प्रवचन र भाषणमामात्र होइन व्यवहारमा उतार्नु पर्ने धारणा राखे । कार्यक्रममा मन्तव्यका क्रममा वाल्मीकिका प्राचार्य प्रा.डा. भागवत ढकालले वैदिक मन्त्रको उच्चारणमात्रमा पनि रोगनिवृत्ति तथा पर्यावरण शुद्धि गर्ने सामर्थ्य रहेकाले अहिले विश्व नै वेदविज्ञानतर्फ आकृष्ट हुँदै गएको वास्तविकतालाई उल्लेख गर्दै वाल्मीकि विद्यापीठ अनुसन्धान एकाइद्वारा समायोजित अन्तर्कियात्मक कार्यक्रमको प्रशंसा गरेका थिए ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले नारीपुरुषका बीचमा वैदिककालमा कुनै विभेद नरहेको अवस्थामा पछिल्लो समयमा विभेदको प्रचलन बढेको देखिनु दु:खद रहेको बताएका थिए । वेदमा नारीको उच्च सम्मान र गाउँसमाजमा अपमान विद्यमान भएकाले वैदिक वाङ्मयमा निहित ज्ञानराशिलाई विश्वविद्यालयको कक्षाकोठामा सीमित नराखी समाजमा पस्किएर जनसमाजलाई सचेत र जागरुक बनाउँदै जानु पर्ने, सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा उतार्नु पर्ने , संस्कृतलाई नेपालीभाषामा व्याख्या गरी प्रकाशन गर्न आवश्यक छ भन्दै सबैले यो दल त्यो दल तथा यो विचार र त्यो विचारको आग्रहभन्दा माथि उठेर वेदवाङ्मयको ज्ञानलाई दोहन गरी समाजलाई लाभान्वित पार्ने कार्यमा सहकार्य गर्न सम्बद्ध सबैसमक्ष उपकुलपति लामिछानेले अनुरोध गरे भने अन्त्यमा अनुसन्धानमूलक कार्यक्रमलाई भव्य, सभ्य तथा सफल तुल्याउन प्रमुख अतिथि, विशिष्ट अतिथि, कार्यपत्र प्रस्तोता , टिप्पणीकर्ता र सहभागी सबैलाई धन्यवाद तथा आभार ज्ञापनसहित अनुसन्धान एकाइका संयोजक डा. शाान्तिकृष्ण अधिकारीले कार्यक्रम समापन भएको घोषणा गरेका थिए । कार्यक्रमको उद्घोषण तथा सहजीकरण वाल्मीकि अनुसन्धान एकाइका सदस्यसचिव डा. प्रेम न्यौपानेले गरेका थिए भने कार्यक्रममा आमन्त्रित महानुभावलाई सो एकाइका सहसंयोजक डा. नारायण चलिसेले स्वागत-मन्तव्य राख्दै स्वागत गरेको वाल्मीकि विद्यापीठका उपप्राध्यापक उमेश घिमिरेले बताएका छन् ।