रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवलका निलम्बित प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरीत कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालय समक्ष सिफारिस गरिएको हो ।
केसीले बुटवलका सुन व्यवसायीबाट ३५ तोला सुन फिर्ता गर्ने सर्तमा ८ लाख ५० हजार रुपैयाँ घुस लिएको र सुनसमेत फिर्ता नगरेको प्रहरी प्रधान कार्यालयको छानबिन टोलीले ठहर गरेको छ ।
उनको छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । डीएसपी केसीलाई फौजदारी कसुर अर्न्तगत छानबिन गर्न सिफारिस गरे पनि शक्तिको आडमा आन्तरिक छानबिन मात्र भएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार प्रहरी प्रधान कार्यालयबाट भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी पत्र गइसके पनि गृह मन्त्रालयबाट थप निर्णयबारे जानकारी नआएको बताइएको छ ।
डीएसपी केसीलाई गत पुस ११ गते इलाका प्रहरी कार्यालय बुटवलको निवासबाट सुन, ९ लाख ५० हजार रुपैयाँको चेक र ८ लाख ५० हजार रुपैयाँ नगदसहित सीआईबीको टोलीले पक्राउ गरेको थियो । शक्तिको आडमा बुटवलमा गलत धन्दा चलाइरहेको आरोप लाग्दै आएका केसी बुटवलबाट कास्की सरुवा भएका थिए । रमाना लिएर कास्की जानुभन्दा एक दिनअघि उनी सुन र नगद रकमसहित पक्राउ परेका थिए । पक्राउ परे लगत्तै उनी निलम्बनमा परेका थिए । –कान्तिपुर