काठमाडौं । धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय २१ दिनभित्र हटाउने सहमति भएको छ।
सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको छलफलमा काठमाडौं महानगरपालिका, जिल्ला प्रहरी परिसर काठमाडौं तथा राप्रपाका सचिवालय प्रमुख केदारबहादुर अधिकारीबीच यो सहमति भएको हो। प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले राप्रपाले धुम्बाराहीको पार्टी केन्द्रीय कार्यालय आगामी २१ दिनमा सार्ने सहमति भएको जानकारी दिए।
महानगरपालिकाले शुक्रबार मौखिक सूचना गरी तीन दिनभित्र पार्टी कार्यालय हटाउन अल्टिमेटम दिएको थियो। एक्कासी कार्यालय खाली गर्ने सूचना राप्रपाले महानगरसँग लिखितपत्र माग गरेको थियो ।
महानगरको निर्णयप्रति असन्तुष्टि जनाउँदै राप्रपाका नेता कार्यकर्ताले सोमबार पार्टी कार्यालय अगाडि गाडी तेर्साएर आवतजावत ठप्प पार्दै विरोध गरेका थिए।
राप्रपाले सो भवनमा एक दशकदेखि केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको छ।













