अर्घाखाँची । भुमिकास्थान नगरपालिका ९, ढिकुरामा बाटो नसोहोरिएको भन्दै व्यापक गुनासो आएको छ ।
चालु आर्थिक वर्ष २०८०/०८१ मा ९ लाख रुपैंया सडक व्यवस्थित बनाउन बजेट छुट्टाईएको भएपनि हालसम्म सबै बाटो नसोहोरिएको र सोहोरिएका स्थानमा समेत आलटाले रुपमा सडक सोहोरिएको गुनासो गरेका छन् ।
अमुक एक दलको पार्टी कार्यालयमा बसेर एकलौटी समिति निर्माण गरिएको, दसैं जस्तो पर्वमा समेत बाटो नखुलाईदिएको, बाटो खुलाएका ठाउँमा समेत टालटुले काम गरेको भन्दै चौतारा, सलिनडाँडा लगायतका क्षेत्रका वासिन्दाले गुनासो गरेका हुन् । ‘टालटुले कामले हुँदैन, बाटो व्यवस्थित सोहोर्नु पर्छ, सलिनडाँडा निवासी मधुसुधन खनालले भने,‘सँधै यो समस्या आईपर्छ, यसपाली चुप बस्दैनौं ।’
समितिमा कुरा गर्दा गैरजिम्मेवार अभिव्यक्ती आएको त्यहाँका वासिन्दाले गुनासो गरेका छन् । बाटो थप व्यवस्थित तरिकाले सोहोर्नु पर्ने, समयमा सोहोर्नु पर्ने माग राख्दा उल्टै हप्काउने कार्य भएको उनिहरुको भनाई छ ।
यता समितिका अध्यक्ष दिपक चुँदालीले यो बेला सबैतिर काम चलिरहेकाले जेसिबी नपाईने, ड्राईभर मेलापर्व मनाउन जानुपर्ने, मौसमको समस्याले समयमा काम गर्न नसकिएको बताए । ‘पोहोर परार भन्दा यो वर्ष छिटो र उत्कृष्ट कार्य गरेका छौं, उनले भने,‘एकाद ठाँउमा त्यस्ता समस्या आएका छन्, काम गर्ने मान्छेले आरोप खेप्नु पर्दो रहेछ ।’ आफु जेसिबी लिएर जाँदा स्थानियले बाटो खन्न नदिएको उनले गुनासो गरे ।
यो विषयमा वडाध्यक्षले समन्वय गर्नुपर्नेमा समितिलाई जिम्मा दिएको भन्दै पन्छिने गरेका स्थानियको भनाई छ ।