कोठा नपाउने, पाएको कोठाबाट पनि निकालिनु पर्ने, भान्सामा पसेको भनेर निर्घात कुटपिट हुने खालका छुटपुट घटना त सुन्दै आएको हो तर हालै मात्र एउटा घटना बाहिरिएको छ जसले समाजमा छुवाछूतको जराले दर्हो सँगै समातेको स्पष्ट पारेको छ ।
यसो त छुवाछुत भन्ने बित्तिकै आङ नै सिरिङ्ग हुने नवराज बिकको घटना सबैलाई याद आउने घटना हो । मुगुको सोरु गाउँपालिका–९, खनैयाँमा स्वास्थ्य चौकीकी अनमि तुलसाकुमारी विश्वकर्मा छुवाछूत र अपमान त गरियो नै साथमा उनले दिएको औषधिसमेत बिरामीलाई नचल्ने भयो । उनी उक्त पीडा सहन नसकेर जागिरै छाड्ने मनसायमा पुगेकी थिइन । उनीमाथि बिभेद १ वर्ष अघि देखि नै सुरु भएको हो । दाङ, तुलसीपुरकी उनी कर्णाली प्रदेश लोकसेवा आयोगको सिफारिसमा नियुक्ति लिएर गत वर्ष माघमा खनैयाँ पुगिन्, तब दुर्व्यवहारको शृंखला सुरु भयो । दलित भएको थाहा पाएपछि डेरामा बस्न समस्या भयो । औषधि त चलेन नै, किनमेल गर्दा छोइन्छ भनेर सामान र पैसा भुइँमा राखेर लिनुदिनुपर्यो । सही नसक्नु भएपछि उनले सरुवाका लागि पहल गरिन् तर सुनुवाइ भएन । उनी उक्त पीडा सहन नसकेर जागिरै छाड्ने मनसायमा पुगिन । जब सार्वजनिक भयो, उनी उल्टै असुरक्षित हुनुपर्यो । प्रहरी र जनप्रतिनिधिले उद्धार गरेर उनलाई सदरमुकाम पुर्याएका छन् । सरकारी कर्मचारीले नै यति निकृष्ट व्यवहार सामना गर्नुपर्ने समाजमा सर्वसाधारण दलित समुदायको हबिगत कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ ।
बासस्थान देखि कार्यालयसम्म उनले पाएको उत्पीडन त निन्दनीय छ नै उत्तिकै दण्डनीय पनि छ । यस्तो घृणित विभेदपूर्ण कार्यमा जजसको संलग्नता छ, उनीहरू सबै कानुनी कारबाहीका हिस्सेदार हुन् र हुनैपर्छ।
‘छुवाछूतमुक्त राष्ट्र’ घोषणा भएको १७ वर्ष, जातीय आधारमा कसैलाई पनि भेदभाव गर्न नपाइने भनेर मुलुकी ऐनमा लेखिएकै ६ दशक बितिसक्दा पनि यस्ता घटना हुनु र यिनले प्रसय पाउनु आफैमा निन्दनीय कार्य हो । यसो त समयको परिवर्तन सँगै नेपाली समाजमा जातीय छुवाछुत बिस्तारै कम हुँदै आएको छ । यसको मतलव सबै समयसँगै परिवर्तन हुन्छ भन्दैमा यस्ता घटनाको नजरअन्दाज गरिनु पनि हुँदैन ।
छुवाछूतलाई समाजबाट निर्मूल पार्न सजाय हुने व्यवस्थासहितको छुट्टै कानुन बनेको पनि १२ वर्ष बितेको छ । यो बिचमा तुलसाले जस्तो अपमान र हिंसा हजारौँले भोग्नु परेको छ । छुवाछुत कै कारण ज्यान समेत गुमाउनु परेको छ ।
जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ मा जातीय तथा अन्य सामाजिक छुवाछूत वा भेदभाव कार्यमा मद्दत गर्ने, उक्साउने वा त्यस्तो प्रयास गर्नेलाई पनि सजाय हुने भनिएको छ । छुवाछूत वा भेदभावको कसुर गरे दुई महिनादेखि ३ वर्षसम्म कैद र २० हजार रुपैयाँदेखि २ लाख रुपैयाँ जरिवाना तथा उक्साउने वा त्यस्तो उद्योग गर्नेलाई मुख्य कसुरदारलाई हुने सजायको आधा हुने कानुनी व्यवस्था छ । कसुरमा सजाय पाएको व्यक्तिले पुनः उस्तै कसुर गरे दोब्बर सजाय हुन्छ । यस्तो कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ ।
तुलसामाथि भएकाे घटनाले नेपाली समाजको सोचलाई बयान गरिरहेको छ । यद्यपि यो सबैमा लागू नहोला । छुवाछूत निर्मूल पार्न अझ धेरै पहलकदमी आवश्यक छ । यस्तो बिभेद गर्नेलाई कानुन सम्वद्ध हदैसम्मको कारवाही हुनु पर्छ । समाजमा यस सम्बन्धी सचेतना फैलाउन जरुरी छ ।












