back to top
२० असोज २०८१, आइतवार
IPL 2024
IPL 2024
२० असोज २०८१, आइतवार
IPL 2024
spot_img

मन मिल्यो, गोत्र मिलेन

Workplace
त्यतिबेला म महेन्द्ररत्न क्याम्पसमा बि.एड.पढ्थे उ भर्खर प्लस टु पढ्दै थिई शिक्षा संकायमै । म प्राय: सामाजिक संजालमा आफ्नो विचार राखिरहन मन पराउछु। पत्रपत्रिकामा पनि अलिअलि लेख लेख्थें । भाषा, साहित्यसङ्ग नजिक भैरहन मनपर्थ्यो । मैले फेसबुक टिकटकमा कविता,गजलहरु पोष्ट गर्दा उ कमेन्टहरु गरिरहन्थी,उसलाई मेरा लेखहरु खुव मनपर्दो रहेछ । सायद हाम्रो बिषय पनि एउटै भएर हो कि ?
फेसबुक, टिकटकका कमेन्ट हुँदै हाम्रो कुराकानी अब मेसेन्जर अनि ह्वाटसपमा पनि हुन लाग्यो ।
मेरो बिहान कलेज, दिउँसो  पनि जागिर हुने हुदा खासै फुर्सद हुन्थेन, तैपनि समय मिलाएर सकेसम्मको रिप्लाई उसलाई दिईरहन्थे । उसले पनि मेरो ब्यास्तता बुझ्थि । जे होस दुवैले एकअर्काको बिचारलाई एकदमै सम्मान गर्थ्यौ ।
प्रायः उसैले मलाई मेसेज गरिरहन्थी ।  कहिले घरपरिवार, कहिले समाज, कहिले, साहित्य, कहिले राजनिती,
अनि कहिले आफ्नै दैनिकीबारे बेपर्वाह गफ भैरहन थाले।
धेरै केटी साथीहरु थिए मेरा, सबैसँग उसैगरी बोल्थेँ। तर ऊ मेरो निम्ति झन्-झन् महत्वपूर्ण हुँदै गइरहेकी थिई।झन्-झन् प्यारो लाग्न थालेकी थिई।
गफिदा गफिदै हाम्रो कुराकानी अब प्रेमसम्म आईपुग्यो । प्रेम प्रस्ताव उसैले राखि । मैले किन हतार बिस्तारै गर्दै  गरौंला भन्दिएँ । तर म त उसलाई भन्नै नपाई खै कतिखेर प्रेम गर्ने भएछु । अन्ततः हामी प्रेममा पर्यौ ।
त्यसपछि झन निरन्तर च्याट भैरहन थाल्यो। अब हामी एक साथिबाट प्रेमि प्रेमिकाको रुपमा स्थापित हुदै थियौं ।कुरा गर्दै जाँदा हाम्रो सोचाइ पनि धेरै हदसम्म मिल्यो भन्ने लाग्यो मलाई। मिल्नु भनेको आत्मिक हुनु पनि रहेछ। ऊ भई कि भइन? मलाई थाहा भएन। तर म भएँ मैले त्यस्तै महसुस गरेँ।
चलचित्रमा मात्रै देखेर अनुभव बटुलेको म अब आफ्नै जीवनमा पनि यसको अनुभव गर्न पाइने भइयो भनेर मख्ख थिएँ। दुई अक्षरले बनेको ‘प्रेम’ शब्दका बारेमा हजाराैँ कुरा जान्ने अवसर मिल्यो जस्तो लाग्यो।
राम्रोसँग चिनजान भको एक बर्ष पनि भएको थिएन तर यो गफले हामीलाई धेरै पहिल्यैदेखि चिनजान भएझैँ नजिक गरायो। ऊ मलाई विवाहदेखि मृत्यु हुने बेलासम्मको सपना देखाउँथी । यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ मलाई सम्झाईरहन्थी खुव चिन्ता गर्थि भविष्यको कहिलेकाही त सङ्गै हुन नपाइने हो कि भन्ने चिन्ता पनि गर्थि तर फेरि आफैंले सम्झाको जस्तै गरेर यदि एकअर्काको मन भए जस्तोसुकै बाधा पनि पार गर्न सकिन्छ भन्ने अभिव्यक्ति दिन्थि। म मख्ख परेर उसको कुरा सुनिरहन्थे ।
*******
जिन्दगीमा दुइटा कुरा सधै विशेष लागे । एउटा चिया अर्को ऊ । मेरा खुसीका आधार यिनै दुई हुन् सोच्थें । असोज महिनाको एक दिउँसो उसको फोन आयो। आफू अनलाइन रहेको बताउदै मलाई पनि छिटो अनलाइन  आउन आग्रह गरि। किन के भयो भन्ने प्रश्नको जवाफ नै नआउदै फोन कट्यो ।
 त्यो दिन अफिसमा नेट थिएन हतारहतार डेटा अन गरे उसले एउटा फोटो पठाएको नोटिफिकेसन आयो ।हेरेँ, विवाहको कार्ड रहेछ ।
म के गरु के बोलु जस्तै भयो, केही भन्नै आएन ।
“ओह ! ल बधाई छ” मैले रिप्लाई गरे
उसले स्याड इमोजी पठाई ।
‘किन निरास ह? बिहे गर्दैछौ। नयाँ जिन्दगी सुरू हुँदैछ यो त खुसि हुने समय हो नि ।’
हुन त म बिहेको कार्ड देख्नेबित्तिकै  भित्रैदेखि गलिसकेको थिए तैपनि म आफूलाई बलियो बनाउने प्रयास गरिरहें ।
उसले भनि ‘मलाई माफ गर्नु कमल। मैले साथ दिन सकिनँ । घरकाले  गोत्र मिलेन भनेर हाम्रो सम्बन्धलाई अस्वीकार गरे । मैले बाबाआमा रुवाउन सकिनँ । उहाँहरूले खोजेकासँग विवाह गर्नुपर्ने बाध्यतामा फसें ।’
मैले आफुलाई सकेसम्म समाल्ने कोशिश गरिरहे,
तिम्ले त मलाई एकपटक सोध्न पनि नसोधि यति ठूलो निर्णय गरिसकेछौ, हुन त अब ठिकै छ । तिमी तिम्रो जिन्दगीमा खुसी हुनू । तिम्रा आगामी जिन्दगी सुखद रहून् । गोत्र मिलेको केटासँग तिम्रो मन पनि मिलोस् परिवारको खुसी पनि मिलोस् तिम्लाई शुभकामना । ’ मैले रिप्लाई गरे ।
” मलाई  माफ गर्दिनु है म तपाईंलाई साथ दिन सकिन।” उसले मेसेज गरी
उसको कुराले फेरि मेरा आँखा भरिए । रोक्ने प्रयास गर्दै थिए सेतो सर्टमाथि तप्प आँसु खसे ।
तैपनि मनलाई बलियो बनाउदै मैले रिप्लाई गरे ” तिम्ले गल्ती नै के गरेको छौ र माफ गर्न, के प्रेम गर्नु गल्ती हो र ? तिम्रो खुसि हो मैले मात्रै चाहेर के हुने हो र ।”
उसले रोएको ईमोजी पठाई ।
कस्तो अचम्म ! प्रेम प्रस्ताव राख्ने ऊ । विवाहको सपना देखाउने पनि ऊ । विवाहको कार्ड पठाउने पनि ऊ ।धोका दिने पनि ऊ अनि फेरि रूने पनि ऊ? कति अजिव छ है दुनियाँ!
त्यसपछि ऊ अफलाईन भई मैले पनि फेरि फोन गर्न मनले दिएन ।म उसको विवशता बुझ्थें । मलाई थाहा छ मान्छेले जिन्दगी पाउने भनेको एक पटक मात्रै हो ।
उसको जिन्दगीमा । उसको रहरमा । उसका सपनामा । म कहिल्यै पनि हस्तक्षेप गर्न सक्दिनँ । लाग्यो, जिन्दगी उसको हो रहर उसका हुन् । मैले मन सानो बनाएर उसलाई रोक्न हुँदैन।  उसले चाहेको जस्तो जिन्दगी बाँच्न दिनुपर्छ।
दशै नजिकिदै थियो । काठमाडौका अधिकाशं पसलहरु चहलपहल देखिन्थे चारैतिर रंगिन उस्तै थियो।
तर के मेरो मनमा निभेको दियो फेरि बल्न सक्ला त ?आफैंसँग प्रश्न गरें ।
प्रेम त मैले उसलाई अथाह गरेको थिएँ । कुनै आश र अपेक्षा नगरी । फेरि सम्झें, आफ्नो समय त्यसको निम्ति खेर फाल्नु हुँदैन जसले मेरो प्रेम चिन्न सकेन।
ऊ अफलाईन भएपछि विगतका घटनाहरू आँखामा आइरहे ।
साँझ परिसकेकाले सडक किनारमा बत्ती बल्न थालिसकेका थिए। सडकमा गाडीको रप्तार उस्तै । असोजको महिना बाहिर पनि हल्का चिसो थियो मौसम, भित्र मेरो मनको चिसो त झन कसले कल्पना गर्न सकोस। बिहानसम्मको  उमंग र खुसी सबै एकाएक हराएर बिलिन भए । उसलाई र दिउसोको कुरा सम्झँदै कति छिट्टै कोठामा पुगेछु पत्तै पाएनँ ।
मैले मेरो प्रेम चिनें । हैसियत थाहा पाएँ । एउटा नमिठो भ्रमबाट मुक्त भएँ ।
उसले दिएको पीडा मुटुमा सुल बनेर रोपियो तर कुनै प्रतिक्रिया जनाइनँ ।
उसलाई मेसेज नगरी निदाउन सक्दैनथेँ । तर बिस्तारै  बानी पार्न थालेँ ।
उसको विवाहको अर्को दिन उसलाई बधाइ दिन मेसेज गर्न खोजेँ। उसको नाम फेसबुकमा खोजेँ भेटिनँ । अर्को आइडीबाट सर्च गरेर गरेँ। म त व्लक लिस्टमा परेछु। सम्झेँ, अक्सर प्रेम गर्ने मान्छे व्लक लिस्टमा पर्दा रहेछन् ।
उसले बिहेको फोटो पोष्ट गरेकि रहेछ। फिलिङ ह्याप्पी ।
म पनि खुसी भएँ ।  परिवारले ग‍ोत्र मिलाएछन् । उसले मन मिलाइछे । मसँग कति मिठो अभिनय गरी । तर पनि उसको जीवन सदा खुसी रहोस् यहीँ सोचेँ।
घडीले रातको एघार बजाएको रहेछ। फेसबुकमा एउटा स्टाटस पोष्ट गरेँ ।
” पर नै बसेर म माया गरुला …
यहीँ माया कै खातिर दिनदिनै मरौला……”
Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?