प्युठान । प्यूठानमा सोमबार एक व्यक्ति हराएको ५ दिन पछि मृत फेला परेका छन ।
प्यूठान नगरपालिका वडा नं.५ का अन्दाजी ५४ वर्षिय ताईराम थापा जुर्मीकाडाको आरुडाडा स्थित अमिलेगैराको एक खोल्सामा मृत भेटिएको स्थानिय लक्षुमण भण्डारीले बताए ।
भण्डारीका अनुसार थापा साउन १२ गतेका दिन विहान अदुवा, बेसार बेच्न भनी बिजुवार बजार आएका थिए। सोही दिन साझ गाडीमा चामल लिएर घर फर्किएका उनी छिमेकीको घरमा चामल राखेर एकैछिन पछि आउछु भनेर छिमेकीको घरबाट निस्किएका थिए ।
त्यसपछि उनी घर फर्किएका थिएनन् । स्थानियले खोजी गर्दै जादा थापा सोमबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।
मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल बिजुवारमा ल्याइएको छ । मृतक थापा घरमा एक्लै बस्दै आइरहेका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बिजुवारले जानकारी दिएको छ ।












