काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति विवरण समेत अध्ययन गर्ने भएको छ ।
विहीबारको बैठकले न्यायपरिषदको सचिवालयबाट जबराको सम्पत्ति विवरण र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट उनको परिवारका सदस्य र नातेदारमाथिको छानबिनको फाइल मगाउने निर्णय गरेको हो ।
‘उनीहरुको परिवारको सदस्यको सम्पत्ति विवरण र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको फाइल तत्काल मगाउनुपर्छ, मैले यसबारेमा पटकपटक भनेको छु’ समिति सदस्य कृष्णभक्त पोखरेलले भने, ‘अरु महत्वपूर्ण फाइलहरु समेत मगाउनुपर्छ ।’ उनको मागपछि समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य रामबहादुर विष्टले फाइल मगाउन सचिवलाई निर्देशन दिएका थिए ।
समिति सचिवालयले शुक्रबार विहानै न्याय परिषद र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट फाइलहरु मगाउन चिठी लेख्नेछ भने केही कागजातहरु विहान ९ बजेभित्र नै सचिवालयमा आइपुग्नेगरी मगाउने निर्णय भएको एक सदस्यले बताए । समितिले वीरगञ्जको छपकैया पोखरीको विवादमा भएको आदेश र फैसला समेत मगाउने निर्णय गरेको छ ।













